धार्मिक नेता पाण्डेलाई मातृशोक

इनेप्लिज २०७२ साउन ३२ गते १४:३२ मा प्रकाशित

स्व. माता सावित्रा पाण्डेकाठमाडौं, साउन ३२ । धार्मिक क्षेत्रका लोकप्रिय व्यक्तित्त्व, नेपालको प्रजातान्त्रिक आन्दोलनका सेनानी, राष्ट्रिय धर्मजागर अभियानका संस्थापक एवम् केन्द्रीय संयोजक, पूर्व सांसद सन्तनेता शङ्करप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उहाँकी माता सावित्रा पाण्डेको ८६ औं वर्षको उमेरमा उपचारका क्रममा रुपन्देही बुट्वलमा निधन भएको छ ।

माता सावित्रा पाण्डेको निधनप्रति शब्द चिन्तन संरक्षण मण्डलले गहिरो दुःख व्यक्त गरेको छ । संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदीले जारी गर्नु भएको शोक समवेदना विज्ञप्तिमा ‘माता सावित्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनाको साथमा मातृवात्सल्यबाट विमुख भई मर्माहत हुनपुगेको पाण्डे परिवारप्रति यस दुःखको घडिमा भगवानले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्ने प्रार्थनासहित शोक संतप्त परिवार, इष्टमित्र, नातागोता एवम् कुटुम्बप्रति शब्द चिन्तन परिवार हार्दिक समवेदना प्रकट गर्दछ’ भनिएको छ ।

धर्मजागरण अभियानको काममा पूर्व पुग्नु भएका शङ्कर आामाको स्वर्गारोहण भएको थाहा पाउँदा विराटनगरमा हुनुहुन्थ्यो । नेपालबन्द रहेको कारणले विराटनगरबाट काठमाडौं, काठमाडौंबाट पोखरा आकाशमार्ग गरी सोमवार अपरान्ह मात्रै उहाँ गृहजिल्ला स्याङ्जा पुग्नुभएको छ ।

अन्त्यष्टिको लागि आमाको पार्थिव शरीरलाई स्याङ्जा लगिएको र सोही जिल्लाको प्रसिद्ध तीर्थस्थल राम्दीमा दाहसंस्कार हुने बताईएको छ ।

दुई आमामध्ये स्व. सावित्रा शङ्करप्रसादलाई जन्मदिने आमा हुनुहुन्थ्यो । स्व. माता सावित्राको कोखबाट जन्मनेमा शङ्करप्रसाद एक्ला पुत्र र तीन बहिनी पुत्री हुनुहुन्छ भने कान्छी मातातर्फ दुईभाई पुत्र र एक बहिनी पुत्री हुनुहुन्छ । कान्छी माता पनि हुनुहुन्छ ।
तपस्वी स्वरूपी सन्तनेता शङ्करप्रसाद पाण्डे नेपाली राजनीति फाँटमा एउटा उदाहरणीय व्यक्ति हुनुहुन्छ ।

उहाँ सनातन धर्मको रक्षार्थ लागि परिरहनु भएको छ । अग्ला शरीरका ठूलो जीउडाल भएका र नाङ्गा खुट्टा हिँड्ने एवम् नेपालमा बनेको मात्रै कपडा लगाउने उहाँ एउटा राष्ट्रवादी नेता तथा अभियन्ता हुनुहुन्छ । यस्ता पुत्रलाई जन्मदिनुहुने माताको स्वर्गारोहण भएको दुःखद खबरले सञ्चार जगतलाई पनि स्तब्ध बनाएको छ । स्व. माता सावित्राप्रति हाम्रो पनि श्रद्धासुमन एवम् शोकसन्तप्त परिवार र आफन्त जनमा हार्दिक समवेदना ।

शोक समवेदना-विज्ञप्ति २

प्रतिक्रिया