मेलम्ची, ३२ साउन । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गतका जुरे, कोदारी, तातोपानीलगायतका सडकखण्डमा पहिरोको कारण पुनःअवरुद्ध भएको थियो । यातायातका साधन र मानिस आवतजावतलाई सञ्चालन गर्न एक सयजना प्राविधिकसहितका चिनियाँ प्रहरी टोली अवरुद्ध भएको सडक पन्छयाउन लागेका छन् ।
पहिरोले ठूलठूला ढुङ्गा सडकमा आएर बसेको र चिनियाँ सशस्त्र टोलीले उक्त पहिरो पन्छाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।
डोजरले पन्छाउन नसकेको ढुङ्गालाई बम विस्फोट गरी पन्छाएको र आइतबार र आज गरी छ वटा विस्फोट गरिसकेको थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार जुरेमा बगेर आएको लेदोले पनि सडक अवरुद्ध पारेको र त्यसतर्फ पनि चिनियाँ टोलीले पन्छाइ रहेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि त्यसतर्फ सुरक्षाका लागि गएका छन् ।
जिल्लाको मेलम्ची, बाह्रबिसे, जुरे, कोदारी तातोपानी क्षेत्रमा पटकपटक पहिरो जाने गरेको छ ।
प्रतिक्रिया