काठमाडौँ, ३१ साउन । आजको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहा गर्न बन्द आह्वानकर्ता दलले माग गरेका छन् ।
तेत्तीस दलीय राष्ट्रिय मोर्चाकातर्फबाट नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताले आज साँझ संयुक्त वक्तव्य जारी गर्दै गिरफ्तार भएकाको अविलम्ब तथा बिनासर्त रिहाइका लागि माग गर्नुभएको छ ।
आजको बन्दका क्रममा माओवादीकी पोलिटब्युरो सदस्य अमृता थापा, केन्द्रीय सदस्य गिरबहादुर थापा, दामा शर्मा, पार्वती थापा, सुरेश श्रेष्ठ, राजकाजी महर्जन, बद्री बजगाईं, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य लालबहादुर तामाङ, सञ्जय यादव, पूर्णबहादुर बस्नेत, विद्युतरत्न बज्राचार्य, सभासद् राधा तिमल्सिना, तमलोपाका केन्द्रीय सदस्य उदय तिवारी, सुरेन्द्र तिवारी, युवा फ्रन्टका महासचिव मुकेश झालगायत दर्जनौँ नेता–कार्यकर्तालाई देशका विभिन्न भागबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
एकसय १७ बन्दकर्ता प्रहरी नियन्त्रणमा
यसैबीच, नेपाल प्रहरीले नेपाल बन्दका क्रममा आज देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ११७ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौँबाट ९८ जना, ललितपुरबाट आठजना, कास्कीबाट तीनजना, मोरङबाट तीनजना, झापाबाट एकजना र मकवानपुरबाट चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
बन्दकर्ताले आज काठमाडौँको कोटेश्वरमा बा १ ज ७१९६ नम्बरको ट्याक्सी, तीनकुने गणेशमन्दिर नजिक भक्तपुर–रत्नपार्क चल्ने बा २ ख ३६४४ नम्बरको बस, धापासी हाइटमा बा १ ख ८८४५ नम्बरको माइक्रोबस र एयरपोर्ट गेट अगाडि बा १ ख ५६०२ नम्बरको बसमा तोडफोड गरेका छन् ।
नेपाल प्रहरीले बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन देशभर व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
प्रतिक्रिया