ट्रकमा आगजनी

इनेप्लिज २०७२ साउन ३० गते ११:०७ मा प्रकाशित

1421731377_bandaधनगढी, ३० साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली जिल्लाको चौमाला सडकखण्डमा आज ना ४ ख ८४८८ नं को मालबाहक ट्रकमा आगो लगाई क्षति पुर्‍याइएको छ ।

आगजनीबाट ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलमा आएका तीन/चार जनाको समूहले ट्रकमा आगजनी गरेर उनीहरु त्यहाँबाट फरार भएको बताइएको छ ।

वीरगन्जबाट कुखुराको दाना लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको उक्त ट्रकमा बन्द आह्वान कर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनी गरिएको ट्रक धनगढीका मदनराज जोशीको रहेको बताइएको छ । यद्यपि थारु कल्याणकारी सभाका लाहुराम चौधरीले आफूहरुका तर्फबाट आगजनी नभएको दाबी गर्नुभएको छ ।

प्रदेश निर्माणको विरोधमा थारु कल्याणकारिणी सभालगायतका थारु सम्बद्ध सङ्गठनले जारी राखेको बन्दका कारण आज पनि कैलालीलगायतका जिल्लाको यातायात, व्यापार व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।

यद्यपि जिल्लाको धनगढी, अत्तरियालगायतका बजारमा भने व्यापार व्यवसाय सञ्चालन रहेको छ ।

सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरलाई अलग प्रदेश (थारुवान/थारुहट) मा समेटिनुपर्ने भन्दै यी सङ्गठनले विगत एक हप्तादेखि बन्द गरेका छन् ।

यसैबीच सबै दलमा आबद्ध दलितले राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने मागसहित आज यहाँ बाजगाजासहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया