रुपन्देहीमा गौशाला निर्माण

इनेप्लिज २०७२ साउन ३० गते २:४८ मा प्रकाशित

gaushalaतिलोत्तमा (रुपन्देही), ३० साउन । बुटवल तथा आसपासका क्षेत्रका छाडा चौपायालाई व्यवस्थापन गर्नका लागि पहिलो पटक गौशाला निर्माण गरिएको छ ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शङ्करनगर सामुदायिक वन र करहिया सामुदायिक वनको संयुक्त पहलमा रुपन्देहीको तिलोत्तमा नगरपालिमा गौशाला निर्माण गरिएको हो ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ११ मा पर्ने शङ्करनगर र करहिया सामुदायिक वनको चार बिगाह क्षेत्रफलमा निर्माण भएको गौशाला अब छिट्टै सञ्चालन गर्ने तयारीमा रहेको गौशाला निर्माण समितिका संयोजक यमबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार हाल पाँच हजार चौपाया राख्नसक्ने क्षमताको गौशाला करिब रु ४० लाखको लागतमा निर्माण गरिएको हो ।

गौशाला निर्माणका लागि रुपन्देही क्षेत्र नम्नर–३ का सभासद् बालकृष्ण खाणको पहलमा संसद् विकास कोषबाट रु २८ लाख ५० हजार, तिलोत्तमा नपाबाट रु आठ लाख र बुटवल उपमहानगरपालिकाबाट रु दुई लाख ७५ हजार छुट्टाएको थियो ।

पहिलो चरणमा चार बिगाहमा गौशाला निर्माण भए पनि पछि १० बिगाहमा विस्तार गर्ने योजना रहेको छ ।
गौशाला निर्माणका लागि शङ्करनगर र करहियाले आफ्नो दुईदुई बिगाह वन क्षेत्र उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया