प्रहरी चौकी र स्वास्थ्य चौकीका लागि निःशुल्क जग्गा

इनेप्लिज २०७२ साउन ३० गते २:३९ मा प्रकाशित

सोलुखुम्बु, ३० साउन । विगत सात वर्षदेखि गोलीमा रहेको अस्थायी प्रहरी चौकीलाई गोली ३ र ४ मा बसोबास गर्ने एकाघरका दाजुभाइ टेकबहादुर बस्नेत र देवीध्वज बस्नेतले चौकी भवन निर्माणका लागि निःशुल्करुपमा दुई रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

प्रहरी चौकीको भवन निर्माणका लागि उहाँहरुले शुक्रबार प्रहरी चौकीमा भएको भेलाका बीच प्रतिरोपनी रु एक लाख ५० हजार मूल्याङ्कन भएको दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

भवन निर्माण गर्न जग्गा अभाव भइरहेको बेलामा उहाँहरुले जग्गा दिनुभएको अस्थायी प्रहरी चौकी गोलीका इन्चार्ज छोटेलाल पण्डितले जानकारी दिनुभयो ।

जग्गा दाता टेकबहादुर बस्नेतले आफ्नो स्व पिता श्रीबहादुर बस्नेतले गोलीमा रहेका सबै खाले सङ्घसंस्थाको लागि बाँचुञ्जेल सकेको सहयोग दिनुभएको र आफूहरुले पनि पीताको योगदानलाई अनुशरण गरेको बताउनुभयो ।

यस्तै शुक्रबारै गोलीमा भएको अर्को भेलामा स्वास्थ्यचौकी भवन निर्माणको लागि गोली–३ निवासी शङ्कर बस्नेतले रु एक लाख ५० हजार मूल्याङ्कन भएको एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

लामो समयदेखि बुद्ध मावि गोलीको हाताभित्र सञ्चालन हुँदै आएको स्वास्थ्य संस्था जीर्ण अवस्थामा रहेकाले उपयुक्त स्थानमा जग्गा उपलब्ध भएमा भवन तथा सहरी विकास आयोजना ओखलढुङ्गाद्वारा सुविधायुक्त स्वास्थ्य चौकी भवन निर्माण गर्ने निर्णय यसअघि नै भए पनि जग्गा उपलब्ध नभएकै कारण भवन निर्माणमा विलम्ब भइरहेको स्वास्थ्य चौकी गोलीले जनाएको छ ।

प्रतिक्रिया