संवाद समिति सदस्यबाट साहको राजीनामा

इनेप्लिज २०७२ साउन २९ गते १३:१९ मा प्रकाशित

काठमाडौँ, २९ साउन । एकीकृत नेकपा (माओवादी)का नेता प्रभु साहले संवैधानिक मस्यौदा समितिको सदस्यबाट आज राजीनामा दिनुभएको छ ।

मस्यौदा समितिले संविधानसभा कार्यसञ्चालन नियमावलीले तोकेको क्षेत्राधिकार र कार्यविधिलाई नमानेको तथा अघिल्लो संविधानसभामा भएका सहमति, दलबीच भएको औपचारिक सहमतिलाई समेत नमानेको र आपूmखुसी काम गरेको आरोप सदस्य साहले लगाउनुभएको छ ।

मधेसी, दलित, आदिवासी, जनजाति तथा अल्पसङ्ख्य समुदायको अधिकार नयाँ संविधानमा प्रष्टसँग उल्लेख गर्नाको साटो आफूखुसी निर्णय भएको र मस्यौदा समितिको काम पारदर्शी नभएको आरोप साहको राजीनामापत्रमा लगाइएको छ ।

साहले मस्यौदा समितिका सभापति एकीकृत नेकपा (माओवादी)का अध्यक्ष र संवैधानिक राजनीतिक संवाद तथा सहमतिका सभापतिलाई पनि राजीनामापत्र बुझाउनुभएको छ ।

राजीनामापत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभासद् साहले संविधान निर्माण प्रक्रियालाई पारदर्शी बनाउँदै सबै पक्षको भावनालाई समावेश गर्नुपर्ने तथा दलित, मधेसी, जनजाति तथा आदिवासीको अधिकारलाई समावेश गर्न कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया