सुपारीको पातबाट थाल बटुका

इनेप्लिज २०७२ साउन २९ गते १२:२५ मा प्रकाशित

काँकडभिट्टा (झापा), २९ साउन । नेपालमै पहिलोपल्ट झापाको बुधबारेमा सुपारीको खबटा(पात)बाट थाल बटुका (प्लेट) बनाउने उद्योग खुलेको छ ।

बुधबारे–५ का नारायण रिजालले नेपाल सुपारीखेती विकास संस्थाको सहयोगमा सात महिनाअघि आफ्नै घरमा उद्योग स्थापना गर्नुभएको हो । भारतको केरलाबाट रु २० लाखमा मेसिन खरिद गरेर ल्याएका रिजालले सुपारीको खबटाद्वारा आकर्षक थाल बटुका बनाएर बिक्री गर्न थालिसक्नुभएको छ ।

नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले झापामा सुपारीको खेती बढिरहेको हुँदा यसबाट थाल बटुका बनाउने उद्योग फस्टाउने सम्भावना देखेर प्रविधि भित्र्याइएको बताउनुभयो ।

उद्योगमा हाल तीन वटा मेसिन जडान गरिएका छन् । यसले छ प्रकारका साना बटुका र ठूला थाल बनाउँछ । बजारमा सुपारीका थाली रु तीनदेखि आठसम्ममा बिक्री हुने गरेका छन् । खासगरी पूजामा यस्ता सामग्री पवित्र र उपयोगी मानिँदै आएको सञ्चालक रिजाल बताउनुहुन्छ ।

उद्योगका लागि सुपारीको सुकेको पातको खबटा कच्चा पदार्थको रुपमा उपयोग हुने गरेको छ । रिजालले गाउँबाट प्रतिकिलो रु ६ का दरले सुपारीको सुकेको पातका खबटा खरिद गरेर ल्याउने गर्नुभएको छ । खबटा बेचेर गाउँलेले पनि फाइदा लिन थालेका छन् ।

सुपारीका थाल बटुकाको उत्पादनले भारतबाट भित्रिएका प्लास्टिकका थालीलाई विस्थापित गरेर स्वदेशी स्रोत, साधन र उत्पादनलाई बढावा दिने सम्भावना बढेर गएको छ ।

यस्ता थाल बटुका हेर्दा आकर्षक र त्यसमा जुनसुकै खानेकुरा राखेर मजाले खान सकिन्छ । विगतमा सुपारीको फल मात्र काममा आउने गरेकामा अब पात पनि काममा आउने भएकाले सुपारी किसान खुसी भएका छन् ।

प्रविधि भित्र्याएका रिजालले उद्योग सञ्चालनमा विद्युत् भार कटौती र विद्युत् अनियमितताले बढी अप्ठेरोमा पारेको बताउनुहुन्छ । मेसिनलाई तताएपछि पातलाई प्रेसर दिएर थाल बटुका बनाउने गरिएको छ । तर विद्युत् अनियमित हुँदा मेसिन फेरि तताउन लामो समय लाग्ने गरेको र त्यसबाट खर्चसमेत अत्यधिक हुने गरेको उहाँको गुनासो छ ।

विद्युत् अनियमितताकै कारण हाल उद्योग पूर्ण क्षमताका साथ चल्न नसकेको उहाँको भनाइ छ । विद्युत्का लागि वैकल्पिक स्रोतको व्यवस्था गरेर मात्र प्रशस्त उत्पादन गर्ने सोच रहेको रिजालले बताउनुभयो ।

रिजालले सुपारीको थाली वातावरणमैत्री हुने र प्रयोगपछि मलमा परिणत हुने बताउनुभयो । यतिबेला उद्योगले दैनिक २०० थान थाल र बटुका उत्पादन गरिरहेको छ । विद्युत्को भरपर्दो प्रबन्ध गर्नसके दैनिक ६०० भन्दा बढी उत्पादन गर्न सकिने रिजाल बताउनुहुन्छ ।

उहाँका अनुसार उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने तयारी भइरहेको छ । उत्पादित सामानलाई काठमाडौँदेखि अमेरिकासम्म पठाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया