पानीको अभावमा चर्पी प्रयोग हुन छाडे

इनेप्लिज २०७२ साउन २९ गते १:५९ मा प्रकाशित

cartoon-toilet-1ताप्लेजुङ, २९ साउन । खुल्ला दिसामुक्त घोषणा भएका ताप्लेजुङका धेरैजसो गाविसमा पानीकै अभावमा चर्पी प्रयोगविहीन पाइएका छन् ।

सन् २०१५ भित्रै यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानअनुसार हालसम्ममा २८ वटा गाविस खुला दिसामुक्त घोषणा भएकामध्ये धेरैजसो गाविसमा पानीको अभावका कारण चर्पी पूर्ण रुपमा प्रयोग हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको मामांखे, सुरुम्खिम, हाम्पाङ, फुलवारी, इखावु, फाकुम्वा, सावादेन, तेल्लोक, आंखोपलगायत गाविसका केही बस्तीमा पानीकै अभाव हुने गरेकाले चर्पी प्रयोगमा समस्या आएको हो । खेवाङका स्थानीयवासीले चर्पी बने पनि पर्याप्त पानी नहँुदा समस्या आउने गरेको बताएका छन् ।
पानीको अभाव सृजना भएकामध्ये केही गाविसमा खानेपानीका योजना निर्माण कार्य भइरहेको र कतिपय बस्तीमा पानीकै अभावमा चर्पी पूर्ण रुपमा प्रयोग हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख पेम्वा सेर्पा स्वीकार गर्नुहुन्छ ।

यसैबीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियानको स्थानीय सहजकर्ता तथा जिल्ला विकास समिति ताप्लेजुङका भुपाल सेन्दाङले ती गाविसका धेरैजसो पानीका मुहान सुक्दै गएकाले पनि पानीको अभाव खड्किएको बताउनुभयो । विश्व उष्णीकरणका कारण पनि सानातिना मुहान सुक्दै गएकाले वैकल्पिक तथा ठूला आयोजना आवश्यक भएको उहाँको भनाइ छ ।

एक नगरपालिकासहित ४८ गाविस रहेको यस जिल्लामा अधिकांश गाविसका स्थानीय खानेपानीकै अभाव झेल्न बाध्य छन् । भएका कुवा, धारा पनि पछिल्लो समय सुक्दै गएपछि टाढाटाढाबाट पानी बोक्नुपर्ने उनीहरुको बाध्यता छ ।

प्रतिक्रिया