प्याजको मूल्य वृद्धि

इनेप्लिज २०७२ साउन २८ गते १४:१९ मा प्रकाशित

Onionsवीरगन्ज, २८ साउन । मागअनुसारको उत्पादन हुन नसकेपछि दैनिक उपभोग्य वस्तु प्याजको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

तीन साताअघिसम्म प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने प्याजको मूल्य अहिले रु ७५ देखि ८० सम्म पुगेको छ । स्वदेशी प्याजले बजारको माग धान्न नसकेपछि भारतबाट अहिले ठूलो परिमाणमा प्याज आयात भइरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार, अहिले ९० प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ ।

“आयातित प्याजले बजारको मागलाई पूरा गरेको छैन,” प्याज व्यवसायी राजेश साहले भन्नुभयो ।

विशेष गरेर भारतको कोलकाता तथा नागपुरबाट प्याज आयात हुने गरेको छ । दसैँ, तिहार र छठसम्म प्याजको भाउ अझ बढ्ने र त्यसको मूल्य प्रतिकिलो रु सय भन्दा बढी पुग्न सक्ने अनुमान व्यापारीहरुको छ ।

सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न केही स्थानीय व्यापारीले लाखौँ रुपैयाँ मूल्य बराबरको प्याज अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन् । “सीमावर्ती भारतीय बजारबाट दैनिक रूपमा दर्जनौँ पटक साइकल, रिक्सा, टाँगा, ट्र्याक्टर र टायर गाडामा प्याज अवैध रुपमा नेपाल भित्रिने गरेको छ,” एक व्यवसायीले भने ।

बजारमा प्याजको माग बढेपछि अवैध कारोबारले व्यापकता पाएको हो । भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २० देखि २५ प्रतिशत मूल्य बढी पर्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमा भन्दा भारतीय बजारमा सामान खरिद गर्छन् ।

बारा र पर्साका विभिन्न नाका हुँदै अहिले दैनिक १० देखि १२ ट्रक प्याज भारतबाट अवैध रुपमा नेपाल भित्रिने गरेको बताइन्छ । यसरी अवैध रुपमा नेपाल भित्रिएको प्याज वीरगन्ज हुँदै देशका विभिन्न भागमा आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया