सामुदायिक वनको आम्दानीले मोटरबाटो, बिजुली र विद्यालय

इनेप्लिज २०७२ साउन २७ गते ४:०८ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २७ साउन । म्याग्दीको बेनी नगरपालिका–३ गौश्वारामा रहेको गौश्वारा सामुदायिक वनको आम्दानीबाट गौश्वारामा मोटरबाटो र विद्युत् सेवा प्राप्त हुनुका साथै विद्यालयसमेत सञ्चालनमा आएको छ ।

गौश्वारा सामुदायिक वनका बुढा र पुराना काठ, घाँस तथा जडीबुटी बिक्री गरेर वन उपभोक्ता समितिले प्राप्त गर्ने आम्दानीबाट गाउँमा मोटरबाटो र विद्युत् सेवा पुर्‍याउनुका साथै राधाकृष्ण निम्नमाध्यमिक विद्यालयसमेत सञ्चालनमा आएको गौश्वारा सामुदायिक वनका अध्यक्ष रत्नबम मल्लले बताउनुभयो । विसं २०५० मा समुदायमा हस्तान्तरण भएको सो वनबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको र सो आम्दानी गाउँको विकास निर्माणका पूर्वाधारमा खर्च गर्ने गरिएको छ ।

वनको आम्दानीबाट विसं २०६४ मा रु १५ लाखको लागतमा बागलुङको मालिकादेखि गौश्वारासम्म सात किलोमिटर लामो सडक निर्माण र रु ६ लाखको लागतमा विद्युत् लाइन विस्तार गरिएको गौश्वारा सामुदायिक वनका सचिव कृष्णबहादुर घिमिरेले बताउनुभयो ।

त्यसैगरी वनको आम्दानीबाट नै गाउँमा राधाकृष्ण निमाविको भौतिक पूर्वाधार निर्माण गरिएको छ । विसं २००८ मा स्थापना भएको जिल्लाकै पुराना विद्यालयमध्येको एक राधाकृष्ण निमाविको कक्षा कोठा निर्माण, विद्युत् लाइन जडानदेखि लिएर निजी स्रोतका शिक्षकलाई तलब खुवाउनसमेत सामुदायिक वनको रकम खर्च हुने गरेको जानकारी सामुदायिक वन उपभोक्ता समिति गौश्वाराका सचिव कृष्णबहादुर घिमिरेले दिनुभयो ।

प्रतिक्रिया