खुला दिसामुक्त गाविसमा पानीको अभाव

इनेप्लिज २०७२ साउन २६ गते ३:३३ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २६ साउन । खुला दिसामुक्त घोषणा भएका म्याग्दीका केही गाविस खानेपानीकै चरम अभावमा छन् ।

खुला दिसामुक्त हुनका लागि चाहिने न्यूनतम मापदण्ड खानेपानीकै अभाव भएपछि खुला दिसामुक्त घोषणा कार्यान्वयनमा समस्या देखिएको छ ।

जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्थानीय गाविसलगायतका निकायले अभियानमार्फत जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरे पनि खानेपानी अभावले घोषणा प्रभावित बनेको स्थानीयवासीको गुनासो छ ।

घोषणा कार्यक्रममा खानेपानीको पर्याप्तता नभएका ठाउँमा खानेपानी पु¥याउने आश्वासन दिइएको भए पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन । पानीकै समस्या चरम बनेपछि कतिपय गाउँका शौचालयसमेत प्रयोगविहीन बनेका छन् ।

त्यस्तै समस्या झेलिरहेको अर्मन गाविसका अधिकांश गाउँ खानेपानीको अभावबाट गुज्रिरहेका छन् । गाउँका शौचालय पानी अभावका कारण प्रयोगविहीन अवस्थामा रहेको स्थानीय टेकबहादुर कँडेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको दुर्गम पश्चिम क्षेत्रका गाविसको समस्या अर्मनको जस्तै छ ।

उता मुना गाविस दरगाउँका स्थानीय पनि खानेपानीको चरम समस्यामा छन् । त्यहाँका स्थानीय डेढ घन्टाको बाटो हिँडेर ल्याएको एक गाग्री पानीले दिनभरिको आवश्यकता पूरा गर्नुपर्ने बाध्यतामा रहेको स्थानीय दिलबहादुर विकले बताउनुभयो ।

पश्चिम म्याग्दीका लुलाङ, मुुदी, मुना, गुर्जालगायतका गाविसमा पानीको समस्या रहेको स्थानीयवासी बताउँछन् ।

यता जिल्ला विकास समितिले भने खुला दिसामुक्त भएका सबै गाविसमा पानीको सहज सुविधा नभएको स्वीकार गर्दै आएको छ । खानेपानीको सुविधाका लागि दुर्गम क्षेत्रका गाविसमा प्राथमिकताका साथ बजेट, योजना तथा कार्यक्रम लैजाने जिल्ला विकास समिति म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया