एनआरएन अभियन्ता रतन झा र स्टेट डिपार्टमेन्टका अधिकारी भेट

इनेप्लिज २०७२ साउन २५ गते १८:३५ मा प्रकाशित

NRN Team White House Meet

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)का बरिष्ठ सल्लाहकार एवं अध्यक्ष पदका प्रत्यासी इन्जिनियर रतन झा र स्टेट डिपार्टमेन्टका निर्देशक क्लिन्टन एस ‘ट्याड’ ब्राउनबीच नेपालको पुनर्निर्माणका बिषयलाई लिएर सोमबार स्टेट डिपार्टमेन्टमा भेट भएको छ ।

भेटमा भूकम्पले प्रभावित मातृभूमिको पुनर्निर्माणमा एनआरएनए र अमेरिकी सरकारबीच सहकार्य गर्ने बिषयमा छलफल भएको भेटमा सहभागी सत्तारुढ डेमोक्र्याट पार्टी लाउडन काउन्टीका नेता हरि शर्माले जानकारी दिएका छन् । दिपक्षीय भेटमा झाले भूकम्प लगत्तै अमेरिकाले उद्धार कार्यमा पुर्याएको सहयोग, अमेरिकी सामाजिक संस्था, नागरिक र सरकारको तर्फबाट पुर्याइएको सहयोग र अमेरिकी सरकारले घोषणा गरेको झन्डै २० अरब राशिको सहयोग र सिनेटमा प्रस्तावित ५० अर्ब राशिको सहयोगको लागि एनआरएनए र नेपाली जनताको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।

जवाफमा स्टेट डिपार्टमेन्टका निर्देशक क्लिन्टन एस ‘ट्याड’ ब्राउनले जारी सहयोगलाई भूकम्पले प्रभावित क्षेत्रको पुनर्निर्माणमा प्रभावकारी बनाउने कार्यमा एनआरएनए मार्फत सहकार्य गर्न अमेरिकी सरकार इच्छुक रहेको बताएका थिए । भेटमा सहभागी एनआरएनए अमेरिकाका सल्लाहाकार एवं सत्तारुढ डेमोक्र्याट पार्टी लाउडन काउन्टीका नेता हरि शर्माले दिएको जानकारी अनुसार दिपक्षीय छलफलमा झाले भूकम्पले अति प्रभावित क्षेत्रको विकट गाउँका बिपन्न समुदायका लागि सुरक्षित आवाश योजना साकार पार्न एनआरएनएले विश्वव्यापी अभियान सुरु गरेको जानकारी दिदैं संघ र अमेरिकी सरकारबीच साझेदारीको प्रस्ताव अघि सारेका थिए ।

शर्माका अनुसार स्टेट डिपार्टमेन्टका निर्देशक क्लिन्टन एस ‘ट्याड’ ब्राउनले अमेरिका एनआरएनएसंग नेपालको हितमा हुने आयोजना र पुनर्निर्माणमा सहकार्य गर्न तयार रहेको जानकारी दिएका थिए । उनका अनुसार निर्देशक ब्राउनले निकट भविष्यमै एनआरएनए र अमेरिकी सरकारबीच नेपालको हितमा हुने आयोजना र पुनर्निर्माणमा सहकार्य गर्ने उद्देश्यले बृहद छलफल गर्न अर्को उच्च स्तरीय भेटको आयोजना गरिने प्रतिबद्धता जाहेर गरेका थिए । सोमबार स्टेट डिपार्टमेन्टमा भएको दिपक्षीय भेटमा संघका अमेरिका अध्यक्ष केशब पौडेल, सत्तारुढ डेमोक्र्याट पार्टी लाउड़ेन काउन्टीका नेता हरिकुमार शर्मा, संघका अमेरिकास्थित पूर्व बरिष्ठ उपाध्यक्ष लोक तिवारी र संघका उपाध्यक्ष रबिना थापाको सहभागिता रहेको थियो ।

दिपक्षीय भेटको संयोजन सत्तारुढ डेमोक्र्याट पार्टी लाउड़ेन काउन्टीका नेता हरि शर्मा र संघका अमेरिकास्थित पूर्व बरिष्ठ उपाध्यक्ष लोक तिवारीले गरेका थिए । यसैबीच अध्यक्ष प्रत्यासी रतन झा संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरे लगत्तै खाडी क्षेत्रको दौडाहमा निस्केका छन् । आज सोमबार साँझको नियमित उडानबाट अध्यक्ष प्रत्यासी रतन झा कतारमा रहेका नेपालीहरुसंग मातृभूमि पुनर्निर्माण र त्यहाँ कार्यरत नेपलीहरुको समस्याबारे छलफल गर्न त्यस तर्फ लागेका हुन् ।

NRN Jha White House Meet

प्रतिक्रिया