खानाको जोहो नहुँदा विपन्नका बालबालिका विद्यालय जाँदैनन्

इनेप्लिज २०७२ साउन २२ गते ४:३३ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), २२ साउन । विद्यालय जाने उमेर पुगेका चितवनका विपन्न वर्गका बालबालिकालाई विद्यालय पठाउन समस्या देखिएको छ ।

उनीहरुलाई विद्यालय जान आकर्षित गराउने उद्देश्यले गएको वर्ष लागू हुनुपर्ने विद्यालय खाजा कार्यक्रमसमेत लागू नहुँदा झन् समस्या भएको हो । जसका कारण आएको रु एक करोड ६८ लाख फ्रिजसमेत हुन गएको छ ।

चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले असार दोस्रो सातापछि मात्र रकम आएकाले कार्यान्वयन हुन नसकिएको जानकारी दिनुभयो । उक्त कार्यक्रम चितवनका पहाडी गाविस र विपन्न वर्गमा लक्षित भए पनि समय अभावका कारण काम गर्न नसकिएको उहाँको भनाइ छ ।

“आर्थिक वर्षको अन्तिममा बजेट आयो, काम हुँदैन भनेर विद्यालयको खातामा पनि रकम पठाउन सकिएन, अब आर्थिक वर्ष २०७२÷७३ मा उक्त कार्यक्रम लागू गर्ने योजना छ”, उहाँले भन्नुभयो । उक्त कार्यक्रम नभएकाले पहाडी गाउँ चेपाङ क्षेत्रमा बालबालिका विद्यालय जाने उमेर पुगेर पनि जान सकेका छैनन् ।

स्थानीय चेपाङ प्रतिनिधि दलबहादुर चेपाङले खाना कै अभावमा बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो ।
चितवनमा अघिल्लो वर्षभन्दा करिव १० प्रतिशत विद्यार्थी घटेका छन् । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य खाजा कार्यक्रम नहुँदा पनि विद्यार्थी घटेको हुनसक्ने बताउनुभयो ।

चितवनमा सीमान्तकृत चेपाङ समुदायका दुई प्रतिशत बालबालिका उमेर पुगेर पनि विद्यालय जान वञ्चित भएको शिक्षा कार्यालयको तथ्याङ्क छ । उनीहरुलाई विद्यालय जाने गराउन चुनौती रहेको र अब यो वर्ष खाजा कार्यक्रम सञ्चालन गरेर विद्यालय ल्याउने अठोट आचार्यले गर्नुभयो । करिब सात हजार बालबालिकालाई खाजा कार्यक्रममा सहभागी गराउने लक्ष्य छ । उनीहरुका लागि खाजासँगै छात्राबासको समेत व्यवस्था गर्न सके विद्यालयमा टिकाइराख्न सकिने शिक्षा कार्यालयको निष्कर्ष छ ।

प्रतिक्रिया