छ हजारभन्दा बढी घरपरिवारको स्थानान्तरण

इनेप्लिज २०७२ साउन २१ गते १३:५८ मा प्रकाशित

काठमाडौँ, २१ साउन । भूकम्पपछिको जोखिमका कारण छ हजारभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भूकम्पपछि जमिन चिरा र धाँजा फाटेर जोखिमपूर्ण अवस्थाका १८ जिल्लाका १९ हजार ४१ घर परिवार सार्नुपर्नेमा छ हजार ८४८ परिवार मात्र सारिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । वैशाख १२, १३ र २९ गतेको भूकम्प एवम् परकम्पले जमिन चिरा परी बस्ती जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने नीति सरकारको लिएको छ ।

“जोखिममा परेका बस्ती नजिकैको सुरक्षित स्थानमा सार्ने सरकारको नीति भएकामा केही जिल्लाका स्थानीयवासीले सुुविधासम्पन्न ठाउँमा सार्न माग गरेकाले समस्या देखिएको छ, भएसम्म जोखिममा परेकाको सुरक्षित स्थानको आफ्नै, नभएमा सार्वजनिक पर्ती, त्यो पनि नभएमा वनको रुख नभएको क्षेत्र र यी पनि नपाएमा सरकारले लिजमा लिएको जग्गामा सारिने नीति लिएको छ,” उहाँले भन्नुभयो ।

खानी तथा भूगर्भ विभागले जमिन चिरा परी पहिराको जोखिम रहेका १८ जिल्लाको भौगर्भिक अध्ययन गरी मन्त्रालयलाई जोखिमको प्रतिवेदन दिएका आधारमा ती घरपरिवारलाई गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय पुनःस्थापना कार्यान्वयन सहजीकरण र अनुगमन समितिको निर्देशनानुसार सुरक्षित स्थानमा सारिएको हो ।

तिनलाई सार्नका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासद्को संयोजकत्वमा बनेको सिफारिस समितिको प्रतिवेदनलाई समेत आधार मानिएको थियो । चितवन, गोरखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सिन्धुली, लमजुङ, तनहुँ, काठमाडौँ, ललितपुर, रसुवा, काभ्रेपलाञ्चोक, मकवानपुर, दोलखा, धादिङ, सोलुखुम्बु, नुवाकोट, रामेछाप र खोटाङका बस्ती सारिएको मन्त्रालयका उपसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया