क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुबाउने अर्का फरार प्रतिवादी पक्राउ

इनेप्लिज २०७२ साउन १७ गते १५:१६ मा प्रकाशित

pakraauकाठमाडौँ, १७ साउन । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट ऋण लिई हालसम्म फरार रहेकी ओखलढुङ्गा घर भई हाल ललितपुर टीकाथली बस्ने वर्ष ४५ की तुलसाकुमारी धमलालाई प्रहरीले आज पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनको गत वैशाख २९ गतेको फैसलाले तीन वर्ष कैद र विगोबमोजिमको जरिवाना रु दुई करोड २० लाख हुने ठहर गरी कैद तथा जरिवाना सुनाएकामा धमला हालसम्म फरार थिइन् ।

धमलाले इरादा विल्डर्स प्रालि खडा गरी रु दुई करोड २० लाख कर्जा लिई उक्त कर्जा दुरुपयोग गरकामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

सोही फाइनान्स लिमिटेडलाई ऋण लिई नतिर्ने बानेश्वर बस्ने अरुणकुमार मराठालाई कैद ६ वर्ष र जरिवाना रु १३ करोड ३० लाख सजाय भएकामा गत जेठ १४ गते र धापासी बस्ने नवराज खत्रीलाई कैद तीन वर्ष र जरिवाना रु छ करोड ५० लाख सजाय हुने ठहरेकामा गत जेठ २० गते व्युरोको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया