मनसुनपछि बाढी/पहिरोमा ९० जनाको मृत्यु भएको गृहमन्त्रीद्वारा संसद्लाई जानकारी

इनेप्लिज २०७२ साउन १७ गते ११:०६ मा प्रकाशित

काठमाडौं, १७ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मनसुन सुरु भएयता विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ९० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।

उहाँले ३८ बेपत्ताको खोजी भइरहेको र ४८ घाइतेको उपचार भइरहेको पनि जानकारी दिनुभयो । यही साउन १५ गतेको बैठकमा सांसद्ले बाढी पहिरोबाट प्रभावित र र उनीहरुलाई उपलब्ध गराइएको क्षतिपूर्तिबारे यथार्थ विवरण दिन ध्यानाकर्षण गराएपछि सभामुख सुवासचन्द्र नेम्वाङले यससम्बन्धी भएका कार्यबारे जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको थियो ।

गृहमन्त्रीले यही साउन १३ गतेको अविरल वर्षाका कारण कास्कीको लुम्ले, भदौरे, ढिकुरपोखरीलगायतका गाविसमा गएको पहिरोमा ३५ को मृत्यु, चार बेपत्ता तथा १९ घाइते भएको बताउनुभयो ।

यस्तै, म्याग्दी, बागलुङ, ताप्लेजुङ र रोल्पा जिल्लामा पहिरोबाट भएको जनधनको क्षतिबारे पनि गौतमले जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार पहिरोका कारण कुल ११७ घर पूर्ण क्षति भएको छ । यसैगरी, केही झोलुङ्गे पुल, एक विद्यालय र एक मन्दिर पनि पूर्णतः क्षति भएको छ ।

गृहमन्त्री गौतमले खोज–उद्धार, राहत र घाइतेको उपचार तथा सडक अवरोध खुलाउन सरकारले आवश्यक संयन्त्र परिचालन गरेको र प्रतिमृतक परिवारलाई रु ४५ हजार नगद राहत दिएको बताउनुभयो ।

भूकम्पबाट हलचल भएका भूमिमा पानी पसेपछि बाढी–पहिरो जान सक्ने भएकाले नदी आसपास र पहिरोको जोखिम रहेको ठाउँबाट बस्ती सार्न गृह मन्त्रालयले निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो ।
कागजात आएन
यसैबीच, सरकारले प्रस्तुत गरेको आव २०७२/७३ सँग सम्बन्धित आवश्यक सबै कागजात संसद् सचिवालयलाई प्राप्त नहुँदा विनियोजन विधेयकमाथिको छलफल आजको कार्यसूचीमा पनि आउन सकेन ।

प्रतिक्रिया