इलाम अस्पताल अब पचास श्ययामा स्तरवृद्धि

इनेप्लिज २०७२ साउन १६ गते १४:५० मा प्रकाशित

1253इलाम, १६ साउन । पर्याप्त पूर्वाधार भएर पनि १५ श्ययामा सञ्चालन भइरहेको जिल्ला अस्पताल इलाम ५० श्ययामा स्तरवृद्धि भएको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले इलामलाई ५० श्ययामा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि स्तरवृद्धिको माग गर्दै अस्पतालले ५० श्ययामा सञ्चालन गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरेको थियो ।

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो र हालका स्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि इलाम अस्पतालको निरीक्षण गर्दै अस्पताललाई ५० श्ययाको बनाउन आफूहरुले पहल गर्ने भन्दै अस्पताल विकास समितिलाई प्रस्ताव पठाउन आग्रह गर्नुभएको थियो । यसअघि जिल्ला अस्पताल १५ श्ययाको मात्रै थियो ।

पूर्वी पहाडी जिल्लामा प्रसूति सेवालाई प्राथमिकता दिएर सञ्चालन भइरहेको जिल्ला अस्पताल इलाममा श्यया थप भएपछि ११ विभागमा अस्पताल सञ्चालन हुने अस्पताल विकास समिति इलामका अध्यक्ष गणेश राईले बताउनुभयो । “श्यया थप भएको जानकारी प्राप्त भएको छ, अब अस्पतालको सेवा विस्तार हुन्छ”, उहाँले भन्नुभयो ।

श्यया थप भएपछि अस्पतालमा एमडी डाक्टरसहित सेवा विस्तार हुने र उपकरण तथा चिकित्सक पनि थपिने राईले जानकारी दिनुभयो । जिल्ला अस्पताल ५० श्ययाको भएपछि पाँचथर र ताप्लेजुङबाट समेत बिरामीको चाप बढ्ने भएको छ । पाँचथर र ताप्लेजुङमा १५÷१५ श्ययाका मात्र अस्पताल सञ्चालनमा छन् ।

प्रतिक्रिया