नेपाल कलाकर्मीको मुहान: अध्यक्ष ओली

इनेप्लिज २०७२ साउन १६ गते १०:४४ मा प्रकाशित

kp-oli-final-final9काठमाडौँ, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविध भाषा, धर्म र संस्कृतिले युक्त नेपाल कलाकर्मीका लागि मुहान भएको बताउनुभएको छ ।

नाट्य संस्था महासङ्घको प्रथम महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

“ विश्व अन्धकारमा हुँदा हाम्रा पुर्खा नाटक देखाउँथे, अभिज्ञान शाकुन्तल र मेघदूतजस्ता नाट्यप्रधान कृतिको रचना यो भूमिमा हुँदा विश्व जगत् नाटकको ज्ञानबाट पर थियो, प्राकृतिक दृष्टिले पनि नेपाल यसमा अगाडि छ”–उहाँले भन्नुभयो ।

जनस्तरबाट सुरु भएको नाटक विधा शासकको मनोरञ्जनको साधन हुँदै दरबारबाट फेरि जनस्तरमा आइपुगेकाले जनचेतनाको माध्यमका रुपमा विकास गरिनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
संस्कृतिविद् तुलसी दिवसले विद्यालय र महाविद्यालय बनाएरमात्र मुलुकको विकास नहुने भएकाले ती संस्थामा पढ्ने मानिसको विकास हुनुपर्ने धारणा राख्नु भयो । सिर्जना शक्ति भएका व्यक्ति अभूतपूर्व हुने भएकाले तिनलाई जीवित हुँदै सम्मान गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नाटक लेखक एवम् निर्देशक अशेष मल्ल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भूजीत बाँस्कोटा, नाट्य विधाका अनुसन्धाता डा सावित्री कक्षपति, संस्थाका अध्यक्ष विजय विष्फोट, उपाध्यक्ष प्रवीण कुमा, महासचिव शिरोमणि दवाडी, कोषाध्यक्ष ज्योति राईलगायतका वक्ताले नाट्य विधाको विकासमा सबै क्षेत्रको सहयोग आवश्यक भएकामा जोड दिनुभएको थियो ।

महाधिवेशनमा २८ जिल्लाको नाटक विधासँग सम्बन्धित ३० संस्थाका प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको सदस्य प्रवण भुसालले जानकारी दिनुभयो । महाधिवेशनले दुईवर्षे कार्यकालका लागि ११ सदस्यीय कार्य समिति गठन गर्नेछ ।

प्रतिक्रिया