सेनाको समन्वयमा राजमार्ग खुलाइँदै

इनेप्लिज २०७२ साउन १६ गते ९:३५ मा प्रकाशित

काठमाडौँ, १६ साउन । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा ठूला ठूला पहिरो आई अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य आजदेखि सुरु गरिएको छ ।

नेपाल सरकारको निर्णयअनुसा सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीका इन्जिनियरिङ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायसमेतको समन्वयमा राजमार्ग खुलाउन थालिएको हो । चिनियाँ सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायका संयुक्त टोली परिचालन भएका छन् । राजमार्ग खुलाउन चीनबाट १९ इन्जिनियरिङ र २० सपोर्टिङ इक्युप्मेन्ट प्रयोगमा छन् ।

नेपाली सेनाले उक्त कार्य अवधिभर समन्वयात्मक ढङ्गले सुरक्षा प्रदान गर्ने गरी करिब १५–२० दिनभित्र सम्पूर्ण पहिरो हटाई बाटो सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवका अवसरमा थालिएको सो कामले अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सञ्चालन गर्नाका साथै दुई राष्ट्रबीच रहँदै आएको मित्रवत् सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया