क्षतिग्रस्त र चुहिने घरमै बस्न बाध्य छन् भूकम्पपीडित

इनेप्लिज २०७२ साउन १६ गते ३:०२ मा प्रकाशित

रत्ननगर (चितवन), १६ साउन । चितवन कविलास गाविसमा रहेका भूकम्पपीडित भूकम्पले भत्काएको र चुहिने घरमै बस्न बाध्य छन् ।

सरकारी सहयोग र दाताको सहयोग गरी रु ४५ हजारमा घर उभिएको भए पनि पूर्ण हुन नसक्दा उनीहरु भत्किएका र चुहिने घरमा बस्न बाध्य भएका हुन् ।

आर्थिक अभावका कारण निर्माणाधीन घर पूर्ण गर्न नसकिएको पीडितले बताएका छन् । दाता र सरकारी सहयोग गरी रु ४५ हजारमा घर उभिएको भए पनि बारबेर गर्ने समस्या भएकाले नयाँ घरमा बस्न नसकेको पीडितको भनाइ छ ।

तीमध्येका एक हुन् कविलास गाविस–२ स्याउली लामाटोलकी गङ्गामाया गुरुङ । उनकी घरमा १३ जनाको परिवार छ । भूकम्पले पछाडिको भित्ता भत्किएको छ । नजिकै रहेको अर्काे घरको भग्नावशेष मात्रै छ ।

भूकम्पले भित्तो भत्किएको घरमा फलेकले बारेको छ । त्यसमाथि पानीको छिटा आउँछ भनेर जस्ताले बारेको छ । जोखिम मोलेरै भत्किएको घरमै सबै बसिराखेको गङ्गामायाँले बताइन् ।
घर बनिसक्यो होला भनेर गाउँ पुगेका कविलास गाविसका कार्यालय सहायक अजय पौडेल कुनै घर पूर्ण नभएकामा दिक्क हुनुभयो । सामान्य बारबेर गरेर भए पनि बस्न आग्रह गर्दै उहाँ फर्किनुभयो ।

यस्तै अर्की भूकम्पपीडित डिलमायाँ गुरुङको अवस्था पनि उस्तै छ । पाल प्वाल परिसकेका छन् । छाएको छानोबाट पानी चुहिन्छ । तर बनिसकेको घर बारबेर गर्न सकेको छैन ।

उक्त गाउँमा मात्रै १९ नयाँ घर बनेका छन् । नयाँ घर बनाउन अगुवाइ गर्नुभएका स्थानीय वीरबहादुर विक पैसा नभएकाले घर नबनाएको प्रतिक्रिया दिनुहुन्छ । आफैँले भाटा, बाँस काटेर घर बस्न सकिने भए पनि पीडित पैसा खोजेर बसिरहेका छन् ।

कविलासका ७० घरमा जर्मनीमा बस्ने नेपाली यज्ञप्रसाद सुवेदीले प्रतिघर रु ३० हजार सहयोग गर्नुभएको छ ।

सरकारले दिएको रु १५ हजारसहित गरेर रु ४५ हजारको लागतमा घर निर्माण भए पनि पैसा सकिएपछि पूर्ण हुनसकेको छैन । आंशिक क्षतिमा २४० घर छन् । अहिले पनि क्षतिको विवरण बढिरहेको गाविस सचिव प्रद्युम्नकुमार खड्काले बताउनुभयो ।

प्रतिक्रिया