गाउँ पर्यटन प्रवद्र्धनमा जोड

इनेप्लिज २०७२ साउन १५ गते १३:४२ मा प्रकाशित

काठमाडौँं, १५ साउन । नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढाउन र उनीहरुको वसाइ अवधि लम्ब्याउन गाउँमुखी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपालको १९ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित भूकम्पले गाउँ पर्यटनमा पारेको प्रभाव र चुनौती विषयक गोष्ठीका सहभागी वक्ताहरुले नेपाल आउने अधिकांश पर्यटकहरु ग्रामीण जनजीवन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु हेर्न र अनुभव गर्न रुचाउने भएकाले उनीहरुलाई गाउँगाउँमा लैजान गाउँ पर्यटनको विकास आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पर्यटन व्यवसायीहरु राजनीतिकरुपमा विभाजित नभई एकीकृत पर्यटन विकासमा लाग्नुपर्ने बताउँदै भारत, हङकङलगायतका मुलुकबाट बिदा मनाउन आउने पर्यटकको सानो अंशलाई मात्र नेपाल भित्र्याउन सके पनि ठूलो उपलब्धि हुने भएकाले यसतर्फ व्यवसायीहरु अग्रसर हुनुपर्दछ भन्नुभयो ।

भिटोफ नेपालका वरिष्ठ सल्लाहकार डा प्रेम शर्माले नेपालमा गाउँ पर्यटनका सम्भावना र चुनौतीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हालैको भूकम्पले धेरै पर्यटकीय समपदाहरुमा क्षति पुगेपनि अब त्यसबाट पाठ सिक्दै आवश्यक पहल सुरु गर्न र अन्तर्राष्ट्रिय समुदायमा बजारीकरणतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रशासकीय अधिकृत रमेशकुमार अधिकारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै नेपालको पर्यटन विकास सम्भव भएकाले ठोस लक्ष्यका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेपाल ट्रेकिङ एजेन्टस् एसोसिएसन(टान)का अध्यक्ष रमेश धमलाले भूकम्पबाट भत्किएका पर्यटकीय समपदाहरुको पुनःनिर्माण गर्दा यसको ऐतिहासिकता र मौलिकतालाई बिग्रन दिन नहुने बताउँदै पर्यटनमा निजी क्षेत्रको सहभागिता नभई सरकारसँग साझेदारीको आधारमा सहकार्य हुनसक्दछ भन्नुभयो ।

भिटोफका महाचिव राजकुमार थापाले आव २०७१/७२को कार्यप्रगति र आव २०७२÷७३ को नीति कार्यक्रम प्रस्तुत गर्दै शहर केन्द्रित पर्यटन व्यवसायलाई विकेन्द्रीकरण गरेर गाउँ उन्मुख बनाउन नसकेसम्म नेपालको पर्यटन विस्तार हुन नसक्ने धारणा राख्नुभयो ।

भिटोफका अध्यक्ष चन्द्रबहादुर गुरुङले नेपालमा गाउँ पर्यटनको पूर्वाधार निर्माण गरी पर्यटकहरुलाई गाउँगाउँसम्म पु¥याउन सरकार, व्यवसायी र सहयोगी संस्थाहरुबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बु, भिटोफका पूर्व अध्यक्ष शिव लामिछानेलगायतले पनि पर्यटन व्यवसायीहरु राजनीतिकरुपमा विभाजित नभई विशुद्ध पर्यटन विकासमा लागेमा सबैको हित हुने बताउनुभयो ।

सो अवसरमा पत्रकारिताको माध्यमबाट गाउँ पर्यटनको प्रवद्र्धनमा योगदान पु¥याएवापत पत्रकार हरिराज जोशीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि रु १५ हजार र प्रशंसापत्र रहेको छ ।

प्रतिक्रिया