संविधान निर्माण अन्तिम चरणमा: पूर्वमन्त्री प्रकाशशरण

इनेप्लिज २०७२ साउन १५ गते १२:१४ मा प्रकाशित

Prakash-Saran-mahatभक्तपुर, १५ साउन । पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले देश संविधान निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटस्थित हनुमन्ते खोला किनारामा निर्माण हुन लागेको समितिको कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले अब छिट्टै संविधान आउने बताउनुभयो ।

उहाँले संविधानको मस्यौदामा धेरै कमीकमजोरी रहेको चर्चा गर्दै धेरै सभासद्लाई चित्त नबुझे पनि संविधान जारी भएर एउटा बाटो तय होस् भनेर चुप लागेको बसेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “देशमा संविधान जारी गर्ने बहानामा फेरि पनि पार्टीको महाधिवेशन सार्ने चर्चा चलेको छ, गाउँ, नगर र क्षेत्रको निर्वाचन केही दिन यताउति सारे पनि केन्द्रीय महाधिवेशन अब कुनै बहानामा सार्न पाइन्न ।”

उहाँले तोकिएकै मिति असोज २ गते नै महाधिवेशन सुरु भएर ५ गते नै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै अब २१ औं शताब्दीको चुनौतीलाई सामना गर्दै आमूल परिवर्तन गर्नसक्ने पारदर्शी नेतृत्व आउनु पर्ने उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले काँग्रेस केन्द्रका केही नेताका स्वार्थका कारण भक्तपुरमा क्रियाशील सदस्यको विवाद बल्झिएको आरोप लगाउनुभयो ।

काँग्रेस कार्यालयको भवन तीन आना दुई पैसा क्षेत्रफलमा आगामी वर्षभित्र रु ८० लाखको लागतमा निर्माण हुने भएको छ । कार्यालय भवन निर्माणका लागि जग्गादान गर्ने थिमिका रामकाजी चक्रधर, जुन श्रेष्ठ र राजेश त्वायनावासुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा भवन निर्माणका लागि काँग्रेसका भक्तपुरका पूर्व सचिव विष्णुराज कार्कीले पूर्व काँग्रेस नेतृ एवम् आफ्ना हजुरआमा थीरकुमारी कार्की र बाबु श्यामबहादुर कार्कीको स्मृतिमा दिनुभएको रु एक लाख एक हजार, र ओम श्रेष्ठले दिनुभएको रु २५ हजारसहित कुल रु एक लाख ४६ हजार सङ्कलन भएको छ ।

प्रतिक्रिया