इलामबाट एक वर्षमा बाह्र हजार युवा विदेसिए

इनेप्लिज २०७२ साउन १३ गते १:४५ मा प्रकाशित

ilam_nepal_mapइलाम, १३ साउन । इलामबाट वैदेशिक रोजगारीको सिलसिलामा गत आर्थिक वर्षमा १२ हजार २७ जना युवा विदेसिएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट आव २०७१/७२ मा १२ हजार २७ जनाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएका छन् । तीमध्ये आठ हजार १८ ले जिल्लाबाट र चार हजार नौ जनाले परराष्ट्र मन्त्रालयबाट राहदानी बनाएका छन् ।

आर्थिक वर्ष २०७०/७१ जिल्लाबाट १० जनाले राहदानी बनाएका जिल्ला प्रशासनका राहदानी फाँटका नायब सुब्बा विनोदबाबु बिसीले बताउनुभयो ।

विदेसिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले यसअघि युवा लक्षित स्वरोजगार कार्यक्रम ल्याए पनि कार्यक्रम प्रभावकारी बन्न नसक्दा ग्रामीण क्षेत्रबाट युवा विदेसिनेको लहर नै चलेको छ । राहदानी वितरणबाट प्रशासनले गत आव २०७१/७२ मा रु चार करोड १६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रशासनले नयाँ एमआरपी जिल्लाबाट लिनेलाई रु पाँच हजार, केन्द्रबाट बनाउनेलाई रु १० हजार तथा हराएकालाई जिल्लाबाट रु १० हजार एवम् केन्द्रबाट रु १५ हजार राजस्व लिँदै आएको छ । जिल्लाबाट पेस गरेको राहदानी कम्तीमा ४५ दिनमा केन्द्रबाट आइपुग्ने राहदानी शाखाले जनाएको छ ।

दैनिक ३५ देखि ४५ जनासम्म युवायुवतीले वैदेशिक रोजगारीको सिलसिलामा राहदानी बनाउने गरेको छ । इलामबाट अधिकांश युवायुवती मलेसिया, कतार, दुबई, साउदी अरब जाने गरेका छन् । अहिले सरकारले सातवटा मुलुकमा भिसा शुल्क र प्लेन टिकट निःशुल्क बनाएपछि राहदानी बनाउने क्रम झन बढेको बिसीले बताउनुभयो ।

प्रतिक्रिया