हिन्दूराष्ट्र लेखाएरमात्रै विश्राम लिने : स्वामी ज्ञानानन्द

इनेप्लिज २०७२ साउन १२ गते १५:०८ मा प्रकाशित

चितवनको हिन्दू र्याली 1

चितवन, साउन १२ । नेपाललाई अब बन्ने संविधानमा हिन्दूराष्ट्रकै रूपमा संबोधन गर्नुपर्ने माग राख्दै सोको लागि सम्बन्धित निकायलाई जनदबाब दिन विभिन्न प्रकारका संघर्षहरू गर्दै आएका धार्मिक संघसंस्थाहरुले चितवनको नारायणगढमा मङ्गलवार चर्को घामको बाबजुतपनि विशाल जनप्रदर्शन गरेका छन् । मातृशक्ति, बृद्धबृद्धा, युवा तथा आमसर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको सो जनप्रदर्शनसहितको धर्मसभालाई स्वामी ज्ञानानन्द सरस्वती जी महाराज, संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्मा, जनजाति आदिवासी महासंघका संगठन महामन्त्री प्रेम थुलुङ्, सनातन हिन्दू मोर्चा चितवनका अध्यक्ष कृष्ण लामा, उपाध्यक्ष सावित्री कण्डेललगायतले सम्बोधन गर्नु भएको छ ।

चितवनको हिन्दू र्याली 2
स्वामी ज्ञानानन्द सरस्वती महाराजले सारगर्भित संबोधन दिँदै संविधानमा हिन्दूराष्ट्र नलेखाएसम्म आफूले विश्राम नलिने र त्यसको लागि सबै ॐकार परिवारलाई सडकमा आउन आव्हान गर्नुभएको छ । संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्माले समाजमा जुन प्रकारको छुवाछुत र जातीय विभेद देखिएको छ त्यो हिन्दूधर्मको कारणबाट नभएर शासकहरूले विभिन्न समयमा चलाएको शासकीय नियमले ल्याएको विभेद भएको हुनाले यसलाई धर्मसँग जोडेर हेर्न नहुने बताउनु भएको थियो । साथै धर्मभित्र रहेका विभिन्न विकृतिको उन्मूलन गर्न र धर्मको वास्तविकतालाई उजागर गर्न आफूले संयुक्त सनातन मोर्चाको गठन गरेको, मोर्चाले सबै धार्मिक संघसंस्था एवम् हिन्दूराष्ट्रका पक्षधरसँग मिलेर कुनै पनि हालतमा संविधानमा नेपाललाई हिन्दूराष्ट्र लेखाउने कार्य गर्ने पनि डा. विश्वकर्माले बताउनु भएको छ ।

चितवनको हिन्दू र्याली 4
सो जनप्रदर्शनको सभालाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका संगठन महामन्त्री प्रेम थुलुङ्ले नेपालको परिचय भनेकै हिन्दू भएको, आदिवासी जनजातिसहित सबै नेपालीको धर्म नै हिन्दू रहेको र विश्वका सबै हिन्दू तथा ॐकार परिवारको केन्द्र नै नेपाल भएको हुनाले यो देश हिन्दूराष्ट्र हुनुको विकल्प नभएको बताउनु भएको थियो ।
यसै गरी सनातन हिन्दू मोर्चाका चितवन अध्यक्ष कृष्ण लामाले हिन्दू धर्म निश्चित कुनै जातको मात्रै नभएर सबै नेपालीको धर्म रहेको र नेपालको प्रमुख पहिचान भएको हुनाले यसलाई संविधानमा हिन्दूराष्ट्र भनेर अनिवार्य उल्लेख गर्नु पर्ने बताउनु भएको छ ।

चितवनको हिन्दू र्याली 5
हिजो हरिशयनी एकादशिको दिन धार्मिक संघसंगठनहरूले हिन्दूराष्ट्रको कामना गरी निकाल्न खोजेको दीप र्यालीमा प्रहरीप्रशासनले व्रतालु आमा दिदीबहिनी तथा बुबाहरूलाई धड्पकड गरी हस्तक्षेप गर्ने, गिरफ्तारी गर्ने र लाठीचार्ज गरी घाइते बनाउने गरेकोमा मोर्चाका जिल्ला उपाध्यक्ष सावित्री कण्डेलले घोर आपत्ति जनाउँदै प्रहरी प्रशासनले त्यसको माफी माग्न पर्ने बताउनु भएको छ । स्मरणीय रहोस हिजो सोमवार हरिशयनी एकादशीको दिन उपवास बसिरहेका व्रतालुहरूसमेतले साँझ हिन्दूराष्ट्रको माग गर्दै चिराक जुलुस निकाल्दा प्रहरीले धड्पकड गरी लाठीचार्ज गर्ने र केहीलाई गिरफ्तार पनि गर्ने गरेको थियो । जसमा दश जनाजति सहभागी घाइते भएका थिए ।

चितवनको हिन्दू र्याली 7
चितवनको जनप्रदर्शन कार्यक्रममा संयुक्त सनातन मोर्चा, सत्–मार्ग अभियान नेपाल, शब्द चिन्तन संघ, शब्द चिन्तन युवा संघ, शब्द चिन्तन संरक्षण मण्डल, स्वधर्म संस्कृति संरक्षण अभियान, विश्व हिन्दू परिषद्, विश्व हिन्दू महासंघ, सनातन हिन्दू मोर्चा, हिन्दू राष्ट्र बचाऊँ अभियान लगायतका दुईदर्जनभन्दा बढी संघसंस्थाहरूको सहभागिता रहेको आयोजक संस्था सत्–मार्ग अभियान नेपालका संगठन महामन्त्री खेमनाथ आचार्यले न्यूज टिमलाई बताउनु भएको छ ।

चितवनको हिन्दू र्याली
यसै क्रममा न्यूज टिमसँग कुरा गर्दै शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य लोकचन्द्र अधिकारीले ४६ सालमा पनि चितवनबाटै आन्दोलन चर्केर जनआन्दोलन सफल भएको थियो र अहिले पनि यो धार्मिक जनआन्दोलन चितवनबाटै चर्कदो छ अब यसले अबश्यमभावी रूपमा सफलता चुम्ने सुनिश्चित छ यसमा कुनै शंका छैन भन्नुभयो ।
यसै गरी पूर्वको इटहरीबाट प्राप्त समाचार अनुसार हिन्दूराष्ट्रको माग गर्दै आनदोलनको गतिविधि गरिरहेका श्रीनिवास आचार्यसहित पाँचजनालाई कार्यक्रमस्थलबाटै मङ्गलवार विहान प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरी उनीहरूलाई विराटनगर लगेको बताईएको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा पचास जनाजति आन्दोलनकारी घाइते भएका छन् र घाईतेमध्ये रा.प्र.पा. नेपालका इटहरी नगर अध्यक्ष रामु पोखरेलको स्थिति चिन्ताजनक रहेको घटना स्थलबाट शेखर पौडेलले बताएका छन् । यसै गरी डा. राजेन्द्र पोखरेलको हात भाँचिएको र त्यस क्षेत्र दिनभरी तनाबग्रस्त रहेको बताइएको छ ।
साथै नवलपरासीको कावासोतीमा पनि हिन्दूराष्ट्रको पक्षमा नाराजुलुश भइरहेको बताईएको छ । सत्–मार्ग अभियान नेपालको अग्रसरतामा मङ्गलवार साँझ हिन्दूराष्ट्रको आन्दोलनलाई अझ सशक्त बनाउने रणनीतिक कार्यक्रमको बारेमा सरसल्लाह गर्न मकवानपुर वरपरका धार्मिक संघसंस्थाहरूको सहभागितामा बैठक हुन गइरहेको समाचार प्राप्त भएको छ । काठमाडौं, पोखरा, कैलालीको धनगढी, दाङ, जुम्ला, सिराहको लहान, जनकपुर, पर्वत, बाग्लुङ्ग, स्याङ्जा, पाल्पा, सुर्खेत, दैलेख, कञ्चनपुर, बैतडी लगायतका जिल्लाहरूमा पनि हिन्दू आन्दोलनहरू भइरहेको समाचार आएको छ ।

यी सबै गतिविधिलाई हेर्दा हिन्दूराष्ट्र कायम गर्ने आन्दोलनले क्रमशः शिखर चुम्दै गरेको प्रतित् हुन थालेको छ । यतिबेला धार्मिक स्वतन्त्रता उल्लेख गर्ने विषयमा राजनीतिक क्षेत्रपनि सहमतिको नजिक पुगेको खबर आइरहेको छ तथापि हिन्दू आन्दोलन कर्ताहरूले धार्मिक स्वतन्त्रता मात्रैले नहुने हिन्दूराष्ट्र नै लेख्नु पर्ने अडान राखेका छन् ।

प्रतिक्रिया