ओखरबोटको तामाखानी सञ्चालनमा आएन

इनेप्लिज २०७२ साउन १२ गते ४:२८ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १२ साउन । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब १६ कोष पश्चिममा रहेको ओखरबोट गाविसमा रहेको तामाखानी सरकारी अनुमतिको पर्खाइमा अझैसम्म पनि सञ्चालन हुन सकेको छैन ।

विसं २०३८ देखि बन्द भएको उक्त तामाखानी सञ्चालनका लागि सरकारले अनुमति नदिएपछि सयौँ व्यक्तिको रोजगारी गुम्नुका साथै देशले करोडौँ रुपैयाँ राजस्वसमेत गुमाएको छ ।

चार सय मिटरको क्षेत्रफलमा फैलिएको उक्त तामाखानी सञ्चालन भएमा कम्तीमा पनि प्रत्यक्ष र अप्रत्यक्षरुपमा गरी तीन हजार व्यक्तिले रोजगारी पाउनुका साथै मुलुककै अर्थतन्त्रमा समेत ठूलो सघाउ पुग्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि सरकारले यसतर्फ चासो नराखेको जिल्लाका सरोकारवालाले बताएका छन् ।

ओखरबोटमा मात्रै ६० वटा खानीका सुरुङ रहेका र ती सुरुङबाट करिब ३०० मिटरभित्र गएमा पानीको छहरा भेटिने र त्यहाँबाट केही पर पुगेपछि पाँच मिटर चौडाइ र करिब २०० मिटर लम्बाइ भएको ३०–४० मिटर गहिरो पानीको दह (पोखरी) रहेको र सोही दहको बीच भागमा तामाको धाउ (खानी) रहेको स्थानीय वृद्ध शेरबहादुर विकले बताउनुभयो ।

करिब दुई किलोमिटर क्षेत्रफलमा फैलिएको त्यो सुरुङबाट सम्पूर्ण तामा निकाल्ने हो भने देशलाई आवश्यक पर्याप्त तामा निस्कने स्थानीय समाजसेवी सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

विसं २०३८ देखि बन्द भएको त्यो तामाखानी कहिलेदेखि खन्न सुरु गरियो भन्ने कुनै प्रमाणिक आधार नभए पनि करिब ३०० वर्ष अघि छन्त्याल र मगर जातिले खानी खनेर तामाको व्यापार गर्ने गरेको र सबैभन्दा पहिला, उजित मगर नाम गरेका व्यक्तिले खानी खन्न सुरु गरेको स्थानीय बूढापाकाले बताएका छन् ।

तामा खनेबापत सरकारलाई तिर्नुपर्ने कर वृद्धि हुँदै जानाले कर तिर्न नसकेका कारण खानी खन्ने कार्य बन्द भएको बताइएको छ । ओखरबोट गाविस–५ डाङडुङ गोठ भालुदुला भन्ने ठाउँमा सिसाखानी र भातमोर भन्ने ठाउँमा चाँदी खानी पनि पत्ता लागेको बताइएको छ ।

अहिले पनि खानी तथा भूगर्भ विभागले अनुमति दिएमा त्यहाँ खानी खन्ने सक्षम व्यक्तिको कुनै कमि नभएको र जिल्ला विकास समिति तथा म्याग्दी उद्योग वाणिज्य सङ्घबाट समयसमयमा सरकारलाई अनुमतिका लागि आग्रह भइरहेको बताइएको छ ।

प्रतिक्रिया