प्रभावकारी बन्दै प्रसूति सेवा केन्द्र

इनेप्लिज २०७२ साउन ९ गते ३:५५ मा प्रकाशित

pregnant-women-03-300x300तौलिहवा (कपिलवस्तु), ९ साउन । पछिल्लो समय कपिलवस्तुमा रहेका प्रसूति सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ ।

केन्द्र स्थापनासँगै घरमै सुत्केरी हुनेको सङ्ख्यामा कमी आएको छ । स्थानीय स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनमा आएपछि महिलालाई सजिलो समेत भएको छ । पछिल्लो समय जिल्लाको शिवपुर उपस्वास्थ्य चौकीमा सञ्चालित २४ घन्टे प्रसूति सेवा केन्द्रको तथ्याङ्कले प्रष्ट पारेको छ । तथ्याङ्कअनुसार यतिबेला घरमै हुने सुत्केरीको सङ्ख्यामा निकै कमी आएको छ ।

‘असुरक्षित प्रसूति सेवालाई शून्यमा पु¥याऔँ’ भन्ने अभियानका साथ सञ्चालित सेवा केन्द्रमा सेवाग्राहीको सङ्ख्यामा निकै वृद्धि भएको छ । चालु आवभरि महिनामा मात्र एक हजार १३ जना प्रसूति भर्ना भएकामा ८८४ जना सुरक्षित सुत्केरी भएका छन् । जसमा शिवराज नगरपालिकाका मात्र ७३१ जना रहेका छन् भने विभिन्न गाविसबाट समेत प्रसूति सेवा लिन आउने गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रसूति व्यवस्थापन समिति, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविकाको सक्रियताले यतिबेला प्रसूति सेवा नमूना बन्दै गएको छ । शिवराज नगरपालिकाभित्र पर्ने साविक शिवपुर गाविसको वडा नं ८ का शतप्रतिशत नै स्वास्थ्य संस्थामा आई सुरक्षित प्रसूति सेवा लिएको स्वयम्सेविका लक्ष्मी पोख्रेल बताउनुहुन्छ ।

यस्तै वडा नं १ र ७ मा ९१ प्रतिशतभन्दा बढीले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिएका छन्, भने अन्य वडामा समेत ६० प्रतिशतभन्दा बढीले सेवा लिएको तथ्याङ्कले देखाएको छ । गत तीन वर्षदेखि सञ्चालित प्रसूति सेवामा आव २०६८÷६९ मा ७२ जना, ६९÷७० मा १८६ जना र ७०÷७१ मा २६७ जनाले सुरक्षित प्रसूति सेवा लिएको शिवपुर स्वास्थ्य चौकीले जनाएको छ ।

हरेक वर्षको तथ्याङ्क हेर्दा प्रसूति सेवाप्रतिको आकर्षण बढ्दै गएको छ । शिवराज नगरपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाले प्रसूति केन्द्रमा शिशुको जन्म महत्वपूर्ण हुने भन्दै असुरक्षित प्रसूतिलाई शून्यमा पु¥याउन सबैले जोड दिनुुपर्ने बताउनुभयो । शिशु गर्भमा भएदेखि दुई वर्षसम्मको अवधि महत्वपूर्ण मानिने हुँदा यस अवस्थामा विशेष ख्याल गर्नुपर्ने देवकोटाको भनाइ छ ।

नेपालमा सुरक्षित प्रसूति नभएका कारण बर्सेनि हजारौँ आमा तथा शिशुले ज्यान गुमाउनुपरेको भन्दै प्रसूति केन्द्रमै आई सेवा लिनुपर्ने स्थानीय समाजसेवी महादेव पोख्रेल बताउनुहुन्छ । शिवपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको २४ घन्टे प्रसूति सेवाको व्यापक प्रचारप्रसार गरी बाल मृत्युदर कम गर्नुपर्ने उहाँको जोड थियो ।

प्रतिक्रिया