विदेशको जागिर छाडेर मौरीपालन

इनेप्लिज २०७२ साउन ८ गते ७:४३ मा प्रकाशित

mahuri-palpaतनहुँ, ८ साउन । विदेशको जागिर छाडेर स्वदेशमा व्यावसायिक मौरीपालन गरेर यहाँका एक व्यक्तिले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–१५ निवासी २७ वर्षीय सूर्यप्रसाद पोख्रेलले यथेष्ट आम्दानी गर्न सफल बन्नुभएको हो । रोजगारीको सिलसिलमा चार वर्षअघि कतार पुग्नुभएका पोख्रेल १६ महिना काम गरेर स्वदेश फर्कनुभएको थियो । “कतारमा रहँदा मासिक रु १७ हजार कमाइ हुन्थ्यो,” उहाँले भन्नुभयो– “स्वदेशमा परिवारको साथमा रहेर मेहनत गरे विदेशको भन्दा बढी कमाउन सकिन्छ भन्ने सोचका साथ व्यवसाय थालेको हुँ ।”

उहाँले व्यावसायिक रुपमा २२ वटा घारमा विगत तीन वर्षदेखि मौरी पाल्दै आउनुभएको छ । उहाँले सेरान जातको माछापालनबाट वार्षिक रु एक लाख ५० हजार र व्यावसायिकरुपमा फलफूलखेतीबाट वार्षिक रु दुई लाख ५० हजार गरी रु चार लाख बढी आम्दानी गर्दै आउनुभएको छ । फलफूलखेती गर्दा मौरीका लागि समेत सहज वातावरण हुने भएकाले सुन्तला, कागती, जुनार, नासपातिलगायतका फलफूलखेती गरेको उहाँले बताउनुभयो ।

नेपाल सरकारको युवा लक्षित मौरीपालन कार्यक्रमअन्तर्गत रु एक लाख २८ हजार ६०० आर्थिक सहयोग र एक हप्ताको मौरीपालनसम्बन्धी तालिम प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । पोख्रलको स्वदेशमा बसेर गरेको परिश्रम र मेहेनतले विदेशमा जाने युवालाई गतिलो सन्देश दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया