बिसिजी खोपबाट जाजरकोटका बालबालिका वञ्चित

इनेप्लिज २०७२ साउन ८ गते ७:३४ मा प्रकाशित

vaccination_20130420095812जाजरकोट, ८ साउन । यहाँको जिल्ला स्वास्थ्य कार्यालयमा बिसिजी खोप नहुँदा समस्या भएको छ । बच्चा जन्मिनेबित्तिकै लगाउने गरिएको बिसिजी खोप यहाँको स्वास्थ्य कार्यालयमा नहुँदा नवजात शिशुहरु खोपबाट वञ्चित भएका हुन् ।

क्षेत्रीय कार्यालयसँग खोप माग गरिए पनि जिल्लामा उपलब्ध नहुँदा निकै समस्या भएको खोप सुपरिवेक्षक रामपुकार शाहले जानकारी दिनुभयो । दैनिक जिल्लाका विभिन्न ठाउँमा पठाउने विभिन्न प्रकारका खोप जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय सहयोगीले वितरण गर्दा निकै समस्या हुने गरेको झार्पा स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

खोप सुपरिवेक्षकको जिम्मेवारी लिएका शाह घर गएका कारण कार्यालय सहयोगीले अन्य खोप वितरण गरिरहेका हुन् । यता शाहले भने कर्मचारी अभावका कारण यस्तो समस्या आएको बताउनुभयो । कार्यालय सहयोगीले सिरिन्ज वितरण गर्दा जिल्लाका ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा सिरिन्जको अभाव हुने गरेको छ ।

जिल्लालाई पूर्ण खोपयुक्त बनाउने अभियान चलिरहेका बेला खोप नै अभाव भएपछि यो अभियान प्रभावित भएको छ ।

प्रतिक्रिया