पहिरोले पुल पुरेपछि औलावासीलाई आवतजावतमा समस्या

इनेप्लिज २०७२ साउन ८ गते ३:२२ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ८ साउन । पहिरोले झोलुङ्गे पुल पुरेपछि म्याग्दीको हिस्तान गाविस–७, ८ र राम्चेको ९ नम्बर वडाका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैँसरीमा कालीगण्डकीमा रहेको झोलुङ्गेपुल पहिरोले पुरेपछि औला, रिमा र काफलडाँडाका बासिन्दालाई सदरमुकाम आउन जानका लागि समस्या भएको हो ।

पहिले ४५ मिनेट हिँडेर बैँसरी पुग्ने स्थानीयवासी पुल पुरिएपछि काफलडाँडा महभिरको घुमाउरो बाटो प्रयोग गर्दा पाँच घन्टा पैदल हिँड्नु परेको हिस्तान औलाका वडा नागरिक मञ्चका अध्यक्ष डिलप्रसाद फगामीले बताउनुभयो ।

उहाँका अनुसार पुल नहुँदा बिरामीलाई उपचार गर्न लैजान, दैनिक उपभोग्य सामग्रीको ढुवानी, सरकारी सेवासुविधा लिन सदरमुकाम आउन जान ३०० घरधुरीलाई सास्ती भएको छ । गत जेठ १० गते राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरीमा दुईवटा झोलुङ्गे पुल पुरेको थियो । वैकल्पिक व्यवस्था गर्न ढिलाइ हुँदा त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । जिल्ला विकास समितिले पुल पुरिएपछि दुई महिनामा अर्को पुल निर्माण गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म सुरु नगरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया