एक वर्षमा चौधवटा पुल निर्माण

इनेप्लिज २०७२ साउन ८ गते २:४३ मा प्रकाशित

ilam-mapइलाम, ८ साउन । इलाममा एक वर्षमा १४ पुल निर्माण भएका छन् । जिल्ला विकास समितिले एक दर्जनभन्दा बढी खोलामा झोलुङ्गे र ट्रस ब्रिज निर्माण गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा नेपाल सरकार, जिल्ला विकास समिति, स्थानीय बासिन्दा, गाउँ विकास समिति र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको सहयोगमा पुल निर्माण गरिएको जिविसको ग्रामीण पुल शाखाले बताएको छ ।

झोलुङ्गे पुलका लागि जिल्लामा प्राप्त भएको रु एक करोड ६० लाख ६६ हजारमध्ये आर्थिक वर्षको अन्त्यमा मात्र केही बजेट आएकाले काम हुन नसकेपछि केही रकम फिर्ता गएको छ । प्याङ र जमुना गाविसको बीचमा पर्ने इङ्ला खोलामा भाङटार झोलुङ्गे पुल, जमुना र सुलुबुङ बीचमा पर्ने माईखोलामा धनरुप झोपु, बरबोटे र शान्तिडाँडा बीचमा पर्ने पुवाखोलामा छतिवने र रणवीर झोपु, जितपुर–इभाङबीचमा बरदम्वा झोपु, गजुरमुखी–एकतप्पा बीचमा फाकफोक झोपु, नयाँबजार–सूर्याेदय नगरपालिका बीचको जोगमाई खोलामा सेती दोभान झोपु, समालबुङ–सुनपा बीचमा सिद्धिखोला न्यौपाने बेंसी झोपु र बाँझो–८ को सुन्धुवा खोलामा सिमलटार झोपु निर्माण सम्पन्न भएको ग्रामीण पुल शाखाका सबइन्जिनियर कमल रेग्मीले बताउनुभयो ।

यस्तै एकतप्पा–३ र ६ बीचमा पर्ने याङमा खोलामा आकाशे अमले ट्रस, चमैता–६ र ७ बीचमा देउमाई खोलामा खोलाटार ट्रस, गोर्खे–पशुपतिनगरबीचमा हिमालय ट्रस, इनपा–साङरुम्वा बीचमा उप्रेती (साँघुरी) ट्रस र माईपोखरी–पुवामझुवा बीचमा अल्छे ट्रस निर्माण भएका छन् ।

आव २०७१/७२ मा निर्माणाधीन जमुना–इङ्ला बीचको तीनतले भीर झोपु, आमचोक–फूएँतप्पा बीचको जुङ्गेटारको झोपु, चिसापानी–५ र ८ बीचमा पर्ने भोलटार लेवाखोला झोपु, पुवामझुवा–माईपोखरी बीचको अङ्गारे देवीथाने झोपु र गोर्खे–पशुपतिनगर बीचको दोभाने झोपुको आधा मात्र काम सकिएको छ । जेठ २४ गते मात्र केन्द्रबाट रु ७५ लाख बजेट आएको र खर्च हुन नसकी रु २५ लाख फिर्ता गएको रेग्मीले जानकारी दिनुभयो । समयमै बजेट आएको भए ती पुलसमेत निर्माण सम्पन्न हुने उहाँको भनाइ छ ।

यस चालु आवमा १० वटा पुलका लागि नयाँ सम्झौता हुने र निर्माण सम्पन्न हुन नसकेका पाँचवटा पुलसमेत सम्पन्न हुने रेग्मीले बताउनुभयो । योसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या १३४ पुगेको छ ।

प्रतिक्रिया