प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न वाइसिएलको माग

इनेप्लिज २०७२ साउन ७ गते १४:३७ मा प्रकाशित

2023काठमाडौँ, ७ साउन । एकीकृत नेकपा (माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थासहितको शासकीय स्वरुप अँगाल्नुपर्ने मागसहित सभाध्यक्ष सुवास नेम्वाङलाई आज ज्ञापनपत्र बुझाएको छ ।

वाइसिएलका कावा अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वको टोलीले आज नयाँ संविधानलाई युवामैत्री बनाउन र प्रत्यक्ष कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति जुनसुकै भए पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

राज्यका हरेक निकायमा युवा सहभागिता बढाउनुपर्ने, ३५ वर्षको युवकले प्रधानमन्त्री वा राष्ट्रपतिको उम्मेदवार बन्न पाउनुपर्ने, ७० वर्ष काटेकाले ती दुवै पदमा उम्मेदवार दिन नपाउने व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । वाइसिएलले राष्ट्रिय युवा आयोगलाई अधिकारसम्पन्न बनाउन माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले प्राप्त सुझावलाई जस्ताको तस्तै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइदिने आश्वासन दिनुभयो ।

प्रतिक्रिया