एक्सेलद्वारा भूकम्प प्रभावित झापाका तेह्र विद्यालयलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ साउन ६ गते १०:२८ मा प्रकाशित

logoसुरुङ्गा (झापा), ६ साउन । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड विर्तामोडले भूकम्पबाट क्षति भएका झापामा १२ विद्यालयलाई आज आर्थिक सहयोग गरेको छ ।

बैंकको आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर प्रतिविद्यालय नगद ५० हजारका दरले आर्थिक सहयोग गरेको हो । भत्किएका विद्यालयको भौतिक संरचना निर्माणका लागि बैंकले उपलब्ध गराएको रकम सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टलाई हस्तान्तरण गरिएको बैंकका कार्यकारी निर्देशक दिनेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

बंैकले सरस्वती बाल कल्याण मावि धाइजन, महेन्द्र रत्न उच्च मावि अनारमनी, शान्ति प्रावि दुवागढी, भीमले निमावि खुदुनाबारी, लक्ष्मीनारायण प्रावि गरामनी, सरस्वती प्रावि कुमरखोद, जानकी निमावि पाठामारी, कृष्ण निमावि बाहुनडाँगी, सरस्वती मावि पथरिया, चम्पापुर मावि घैलाडुब्बा, जनआर्दश उच्च मावि शिवगञ्ज र बाल प्रावि बनियानीलाई रकम प्रदान गरेको छ ।

त्यस्तै बैंकले झापाको मेचीनगर नगरपालिकास्थित इँटाभट्टामा रहेको आदर्श उच्च माध्यमिक विद्यालयका बालबालिकालाई शुद्ध पिउने पानीको व्यवस्थापनका लागि नगद रु एक लाख ५० हजार सहयोग गरेको छ ।

विद्यालयमा खानेपानी ट्याङ्की निर्माणका लागि उक्त रकम प्रदान गरिएको कार्यकारी निर्देशक पोखरेलले जानकारी दिनुभयो । उक्त रकम विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्कालाई प्रदान गरिएको थियो ।

यसैगरी बैंकले विद्यालयसँग एक्सेल बैंक भन्ने कार्यक्रमलाई समेत अघि बढाएको बताइएको छ । जसअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्रीसहित लत्ताकपडासमेत प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो । जसका लागि जिल्ला शिक्षा कार्यालय झापासँग सहकार्य गरिने बैंकका कार्यकारी निर्देशक पोखरेलले बताउनुभयो ।

बैंकका सञ्चालक गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमिया, पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकाल, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, महेन्द्ररत्न उच्च माविका प्राचार्य मोहन ओली, बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोरा आर्दश उच्च माविका प्राचार्य खड्कालगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बैंकको सेयरपुँजी २० करोड ५० लाख र ११ करोड ५० लाख रुपैयाँ नाफा गरेको बैंकका सहायक निर्देशक उमेशकुमार घिमिरेले जानकारी दिनुभयो । बैंकले करमात्रै तीन करोड १३ लाख रुपैयाँ तिरेको बताइएको छ । बैंकका पूर्वका झापासहित मोरङ र इलाममा १५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी विष्टले झापामा नै एक्सेलले नौलो कार्यक्रमको सुरुवात गरेको र यो कार्य अत्यन्त सराहनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया