वन फँडानी गरेर सडक

इनेप्लिज २०७२ साउन २ गते २:४४ मा प्रकाशित

फलेवास (पर्वत), २ साउन । जथाभावी सडक खन्ने प्रचलन पर्वतका लागि नौलो होइन, सडक खन्दा वन ठूलो मात्रामा विनास भइरहेको छ भने पहिरो तथा भूक्षयको समस्या बढेको छ ।

सडक निर्माण गर्दा वन फँडानी रोक्ने माग बढेका बेला पर्वतको तिलाहार गाविस–९ मा सडक निर्माण गर्दा ठूलो मात्रामा वन फँडानी भएको छ ।

गाउँमा निर्माण भएको सडक वन क्षेत्रबाट लैजाँदा थार्माजुङ सामुदायिक वनमा रुख फँडानी भएको हो । उक्त वन क्षेत्रमा ठूला सल्लाका रुख २०÷२५ को सङ्ख्यामा तथा साना स्थानीय जातका बोट चिलाउने, मसुरे कटुस, सल्लालगायतका सयौँको सङ्ख्यामा डोजरले ढलाएको छ ।

सो गाविसको ज्ञानेन्द्र प्राविको क्षेत्रमा रहेको बोट बिरुवा मास्दै डोजर वन क्षेत्रमा लगेपछि स्थानीयले विरोध गरेको थियौँ तर अध्यक्ष लक्ष्मण केसी माधवले वास्ता नै नगरी डोजर अगाडि बढाएकाले बाध्य भएर जिल्ला वन कार्यालयमा उजुरी गर्न आयौँ स्थानीय बुद्धिजीवीले बताए ।

उनीहरुले जिल्ला वन कार्यालय पर्वतमा डोजर प्रयोग गरी फँडानी भएका फोटो तथा डोजरले ढलाएका ठूला रुखलाई बिक्रीका लागि तयार पारिएका गिडसहितको फोटो निवेदनमा पेस गरेका छन् ।

निवेदन परेपछि जिल्ला वन कार्यालयका प्रमुख पद्मराज नेपालले हामीले यो विषयलाई गम्भीर रुपमा लिएका छौँ तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया