आमाको जन्म दिनको अवसरमा ६ वटा अक्षयकोष स्थापना

इनेप्लिज २०७२ साउन २ गते २:३२ मा प्रकाशित

सुरुङ्गा(झापा) १ साउन । आमाको जन्म दिनको अवसर पारेर झापाको बिर्तामोड निवासी समाजसेवी राजकुमार पोखरेलले शैक्षिक र धार्मिक क्षेत्रका लागि ६ वटा अक्षयकोषको एकै पटक स्थापना गर्नुभएको छ ।

उहाँले आफ्नो ८५ वर्षीया आमा कृष्णकुमारी पोखरेलको जन्मदिनको अवसर पारेर आज रु ३ लाख ६ हजारको अक्षयकोषको स्थापना गर्नुभएको हो ।

विभिन्न चाडपर्व तथा पारिवारिक उत्सवहरुमा हुने फजुल खर्चलाई कटौती गर्दै समाजको ध्यानाकर्षण गराउन आफूले हस्तमान प्रधान स्मृति छात्रवृत्तिको अक्षयकोष स्थापनाका निमित्त रु ५१ हजार एक, राइटर कञ्चनबहादुर तामाङ स्मृति छात्रवृत्ति अक्षयकोषका निमित्त रु ५१ हजार एक र खड्गबहादुर खपाङ्गी स्मृति छात्रवृत्ति अक्षयकोषका लागि रु ५१ हजार एकको अक्षयकोषको स्थापना गरेको जानकारी उहाँले दिनुभयो । समाजसेवी पोखरेलले अनारमनी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख मोहन शिवाकोटीलाई अक्षयकोषका लागि सो रकम हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी चन्द्रशेखर पोखरेल (राजकुमार पोखरेलका हजुरबुबा)–को स्मृतिमा विवेकाश्रम चारपानेका विद्यार्थीहरुको भोजनका लागि अक्षयकोष स्थापना गर्न रु ५१ हजार एक विवेकाश्रमका प्राचार्य किशोरकुमार गौतमलाई सोही समारोहमा उहाँले हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी त्रिलोचन पोखरेल (राजकुमार पोखरेलका सानो हजुरबुबा)–को स्मृतिमा हरिहर आश्रम सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न रु ५१ हजार एक आश्रमका अध्यक्ष युवराज विमलीलाई हस्तान्तरण गरियो ।

त्यसैगरी आफ्ना पिता शेरबहादुर पोखरेलको स्मृतिमा सरस्वती माध्यमिक विद्यालय बुट्टाबारीलाई रु ५१ हजार एक विद्यालय व्यवस्थापन समितिका राजुजंग कन्दङ्वालाई सोही समारोहमा समाजसेवी राजकुमार पोखरेलले हस्तान्तरण गर्नुभयो ।

सोही अवसर आमाको लागि उपहारस्वरुप ८४ बसन्त नामक संस्मरणात्मक र ऐतिहासिक तथ्यसहितको खोजपूर्ण कृति समेत लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि साहित्यकार कोमलप्रसाद पोखरेल र पत्रकार मदन ढकालले टिप्पणी गर्दै कृति इतिहासका अध्येताहरुका निमित्त उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

कृष्णकुमार पोखरेलकी सहपाठी उमा पोखरेलको अध्यक्षता र वयोवृद्ध समाजसेवीद्वय पर्शुराम ढकाल र टुंगबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सो कार्यक्रममा भएको थियो ।

प्रतिक्रिया