एमाओवादी अध्यक्ष दाहाल र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

इनेप्लिज २०७२ साउन २ गते २:१९ मा प्रकाशित

काठमाडौँ, २ साउन । भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले  हिजो भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ ।

हिजो साँझ भएको भेटवार्तामा नेपालको संविधान निर्माण प्रक्रिया तथा नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।

भारतीय राष्ट्रपति मुखर्जीले दलहरुका बीचमा भएको १६ बुँदे सहमतिका आधारमा संविधानको पहिलो मस्यौदा तयार पारेर जनताका बीचमा पु¥याएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

संविधान बनाएर ठूलो काम गर्नुभयो भन्दै अझै केही समस्या भए छलफलबाट समाधान गर्न राष्ट्रपतिले अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीले अध्यक्ष दाहाललाई भारतमा संविधान बन्दाको अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले एक÷एक कुरामा छलफल गरेर टुङ्ग्याइएको बताउनुभयो । कसैलाई पनि आफ्नो कुरा राख्न पाइएन भन्ने अवसर नदिन अध्यक्ष दाहाललाई सुझाव दिनुभएको थियो ।

अध्यक्ष दाहालले सबै दलको सहमतिमा संविधान जारी गर्न आफूहरु तयार रहेको र सबैको भावनालाई संविधानमा समावेश गरिने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया