ललितपुर, ३१ असार । पछिल्लो समय दक्षिणी ललितपुरका विभिन्न स्थानमा च्याउको व्यावसायिक खेतीप्रति कृषक आकर्षित भएका छन् ।
जिल्लाको मानिखेल–६ खोरभञ्ज्याङमा एकै स्थानमा ४० रोपनी जग्गामा १५० टहरामा व्यावसायिक रुपमा गोभ्रे च्याउको खेती हुँदै आएको छ । चापागाउँ घर भएका दीपक तिमिल्सिनाले जग्गा भाडामा लिई तीन रोपनी जग्गामा आठ वटा टहरा निर्माण गरी व्यावसायिक रुपमा गोभ्रे च्याउको खेती गर्दै आउनुभएको छ । घिमिरेका अनुसार मौसमले साथ दिएको समयमा र उचित बजार भाउ पाउँदा वार्षिक रु १५ लाख आम्दानी गर्न कठिन हुँदैन । कुनै समय च्याउमा ढुसी लागेर सताउने भएको हुँदा लगानीसमेत डुब्ने गरेको उहाँले बताउनुभयो ।
खेती गर्न सहज र राम्रो बजार पाउने भएकाले त्यहाँका अधिकांश कृषकले गाोभ्रे च्याउको खेती गरेको अर्का व्यावसायिक कृषक भवानी तिमिल्सिनाको भनाइ छ । कात्तिक महिनादेखि फागुन महिनासम्म यसबाट राम्रो आम्दानी लिन सकिन्छ भने फागुनदेखि जेठमहिनामा अत्यधिक गर्मी हुनेहुँदा आम्दानी लिन सकिँदैन ।
राम्रोसँग आम्दानी दिने महिनामा दैनिकजसो टिपेर बेच्नुपर्ने हुन्छ । ललितपुरमा विशेषगरी दुई प्रकारको च्याउको खेती हुँदै आएको भए पनि अन्य च्याउकोभन्दा सहज रुपमा बजार पाउनुका साथै राम्रो मूल्य पाउने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश कृषकले गोभ्रे च्याउको खेती गर्दै आएका छन् ।
अन्य च्याउ प्रतिकिलो रु १५० हुँदा गोभ्रे च्याउले रु ५०० सम्म मूल्य पाउने गरेको छ । उत्पादित च्याउको मुख्य बजारका रुपमा काठमाडौँको कालिमाटी, बल्खु र ललितपुरको लगनखेल रहेको कृषक शिवराम घिमिरेको भनाइ छ । वार्षिक रुपमा जिल्लामा छ हजार मेट्रिक टन च्याउको उत्पादन हुन्छ भने रु नौ करोड आर्थिक कारोबार हुने गरेको कृषि विकास कार्यालयका सूचना अभिकृत हरि पण्डितले जानकारी दिनुभयो ।
राम्रो बजार भाउ र ढुवानी गर्न सहज भएकाले पछिल्लो समय जिल्लामा करिब एक हजार ५०० जना कृषकले व्यावसायिक रुपका यसको खेती गर्दै आएका छन् । नजिक बजार, ढुवानीका लागि समस्या नहुने र खेती गर्ने स्थानको समस्या नभएकाले पनि स्थानीयमात्रै नभई बाहिरी जिल्लाबाट पनि आएर ललितपुको दक्षिण भेगमा खेती गर्ने गरेका छन् । सहुलियत दरमा ऋण, सञ्चय गरेर राख्नका लागि स्थान र समयअनुसार सरकारले बजार भाउ निर्धारण गरिदिए राम्रो हुने कृषकले बताएका छन् ।
चापागाउँ, ठेचो, लामाटार, मानिखेल, भारदेउ, चन्दनपुर, चौघरे, ठैव, गोदावरी लुबु, लामाटार, चन्दनपुरलगायतका स्थानका च्याउको व्यावसायिक खेती हुँदै आएको छ ।
प्रतिक्रिया