जिल्ला शिक्षा कार्यालय झापा लगातार तेस्रोपटक उत्कृष्ट

इनेप्लिज २०७२ असार ३१ गते ३:४० मा प्रकाशित

Jhapa_nepal-mapसुरुङ्गा (झापा), ३१ असार । कार्य सम्पादनका आधारमा जिल्ला शिक्षा कार्यालय झापा यो वर्ष पनि पूर्वका १६ जिल्लामा उत्कृष्ट भएको छ ।

उत्कृष्ट भएसँगै झापाले नगद २५ हजारसहित उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । योसँगै झापा लगातार तेस्रोपटक पूर्वमा उत्कृष्ट भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका उपनिर्देशक चुडामणि फुयालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७१/०७२ को कार्य सम्पादनका आधारमा क्षेत्रीय शिक्षा निर्देशनालयले हरेक वर्ष मूल्याङ्कन गर्दै उत्कृष्टसहित तीन जिल्लालाई पुरस्कृत गर्दै आएको छ । क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको जानकारीअनुसार उदयपुर दोस्रो र इलाम तेस्रो भएका छन् । दोस्रो हुने उदयपुरले नगद २० हजार र तेस्रो हुने इलामले नगद १५ हजारसहित प्रमाणपत्र हात पारेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिसहित १४ वटा विद्यामा गरिएको मापनका आधारमा झापा प्रथम भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका उपनिर्देशक फुयालले बताउनुभयो ।
पूर्वका १६ जिल्लामा झापा उत्कृष्ट भएसँगै जिल्ला शिक्षा अधिकारी लुइँटेलले शैक्षिक विकासमा सघाउ पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया