कर्णमाथि कालोमोसो दलेको जिम्मा इन्जिनियरिङ कलेज इकाइ समितिले लियो

इनेप्लिज २०७२ असार ३० गते १४:५१ मा प्रकाशित

Ranjit-Karnaभक्तपुर, ३० असार । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी नेविसङ्घ नेपाल इन्जिनियरिङ कलेज इकाइ समितिले लिएको छ ।

आज रफत सञ्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दै इकाइ समितिले लामो समयदेखि विधानविपरीतका कार्य नगर्न अनुरोध गर्दै आए पनि अध्यक्ष कर्णले नमानेकाले बाध्य भएर निवासमै पुगेर कालोमोसो दलेको दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा इकाइ सचिव अशिष श्रेष्ठले अध्यक्ष कर्णले पैसा लिएर सदस्य नियुक्त गर्ने, ५० हजारभन्दा बढी रकम लिएर क्याम्पस इकाइ अध्यक्ष बनाउने र जिल्ला अध्यक्षको मूल्य एक लाख र केन्द्रीय सदस्य बन्न रु तीन लाखसम्म लिएको आरोप लगाउँदै विधानविपरीत गएर आर्थिक चलखेल गर्दै मनपरि गरेकाले बाध्य भएर कालोमोसो दलेको बताउनुभयो ।

उहाँले कालोमोसो प्रकरणमा नामै किटान गरेर जसलाई आरोप लगाएको छ त्यसमा सत्यता नभएको बताउँदै अन्य नेताहरूको नाम राजनीतिक प्रतिशोध लिने ढङ्गले आएको जिकिर गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसका अग्रज नेताहरूले बेलैमा यो प्रकरणबाट पाठ सिक्न अनुरोध गर्दै विधानसम्मत काम गर्न नसके यस्ता थुप्रै घटना हुन सक्ने चेतावनी पनि दिनुभयो ।

प्रतिक्रिया