गुल्मी खुला दिसामुक्त तथा पूर्ण साक्षर

इनेप्लिज २०७२ असार २७ गते ३:०७ मा प्रकाशित

Gulmi_district_locationगुल्मी, २७ असार । गुल्मी जिल्लालाई खुला दिसामुक्त तथा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ ।

शनिबार उपराष्ट्रपति परमानन्द झाले जिल्लालाई पूर्ण साक्षर तथा खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो । पूर्ण साक्षर हुनेमा गुल्मी १२औँ र खुला दिसामुक्तमा २७औँ जिल्ला हो । विसं २०६९ वैशाख २७ गते अर्जै गाविसलाई पहिलो खुला दिसामुक्त गाविस घोषणा गर्दै खुल्ला दिसामुक्तको अभियान सुरु भएको थियो ।

यही असार १६ गते हुँगा गाविसलाई अन्तिम खुला दिसामुक्त गाविस घोषणा गरेर शनिबार जिल्लालाई खुला दिसामुक्त गाविस घोषणा गरिएको हो । जिल्लामा रहेका ४६ हजार ८८७ घरधुरीमध्ये शौचालय बन्न बाँकी रहेका २४ हजार ७३९ घरमा खुला दिसामुक्तको अभियानसँगै शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख बालमुकुन्द श्रेष्ठले घोषणासभामा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाभर शतप्रतिशत शौचालय निर्माण भइसकेको जिकिर गरिएको छ । खुला दिसामुक्तको अभियानमा सरसफाइ डिभिजन कार्यालय र जिविस गुल्मीले रु दुई करोड २८ लाख ७८ हजार ६०० खर्च गरेका छन् ।

प्रतिक्रिया