पुनर्वासको व्यवस्था गरिदिन बाढीपीडितको माग

इनेप्लिज २०७२ असार २४ गते ३:१८ मा प्रकाशित

खोटाङ, २४ असार । जिल्लाको दक्षिणी गाविस खिदिमाका बाढीपीडितले पुनर्वासको व्यवस्था गरिदिन माग गरेका छन् ।

भारी वर्षापछि गत शनिबार राति आएको भीषण बाढीले घरबार बगाएपछि विस्थापित बनेका स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालयसमक्ष अनुरोधपत्र बुझाउँदै पुनर्वासको व्यवस्था गरिदिन माग गरेका हुन् ।

टेम्मा र मात्तिमको बीचबाट बग्ने तावा खोलामा आएको बाढीले घर, जग्गा, अन्नबाली र घरपालुवा पशुपक्षी बगाउँदा अलपत्र हुनुपरेका कारण पुनर्वासको व्यवस्था गरिदिन प्रशासनसमक्ष अनुरोध गरिएको स्थानीय युवराज कटवालले बताउनुभयो ।

गाविस सचिव जगनाथ फुयाँलको नेतृत्वमा प्रशासन आइपुगेका बाढीपीडितले विस्थापितको यथोचित पुनर्वासको व्यवस्थाबाहेक बाढीका कारण ध्वस्त बनेका लघुजलविद्युत् आयोजना, झोलुङ्गे पुल, ग्रामीण सडक, खानेपानीको ट्याङ्की, खेलमैदानलगायतका भौतिक संरचनाको पुनःनिर्माणका माग राखेका छन् ।

विनाशकारी बाढीले घरबार बगाएपछि पूर्णरुपमा विस्थापित भएका खिदिमा–२ सोल्माका महेन्द्र राई, दिलकुमार राई, विर्तमान राई, खिदिमा–९ का अगमसेर राईलगायतका स्थानीयलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन उनीहरुले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै पावरहाउस, नहरलगायतका संरचना बगेपछि क्षतिग्रस्त बनेको १७ किलोवाटको तावा खोला, ९.५ किलोवाटको खोबु खोला, ५ किलोवाटको हावा खोला र ३ किलोवाटको किवाखोला लघुजलविद्युत् आयोजनाको पुनःमर्मत गर्दै सञ्चालनमा ल्याउन माग गरिएको स्थानीय मनिकुमार राईले बताउनुभयो ।

बाढीका कारण खिदिमामा रु १२ करोड ५० लाख बराबरको भौतिक संरचनामा क्षति पुगेको इलाका कार्यालय मात्तिमले जनाएको छ ।

प्रतिक्रिया