सबैको धारणा समेटेर बजेट ल्याउने प्रमुख चार दलको निर्णय

इनेप्लिज २०७२ असार २३ गते ११:४१ मा प्रकाशित

काठमाडौँ, २३ असार । प्रमुख चार रजनीतिक दलले आर्थिक वर्ष २०७२/७३ को वार्षिक बजेटका सम्बन्धमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सबै दलको सहमतिका बजेट ल्याउने र त्यसमा समावेश गरिने विषयमा छलफल भएको थियो ।

आगामी साउन १५ भित्र संविधान जारी हुने र संविधान जारी भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्थामा सबैले स्वीकार गर्न सक्ने बजेट ल्याउनुपर्नेमा छलफल केन्द्रित रहेको थियो ।

सरकारले व्यवस्थापिका–संसद्मा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको सन्दर्भमा बजेटमा समावेश गर्ने विषयमा छलफल केन्द्रित रहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

भूकम्पपछिको पुनः निर्माणमा बजेट केन्द्रित हुनुपर्ने चर्चा भइरहेको बेला बजेटका समग्र पक्षको विषयमा चार राजनीतिक दलको छलफल भएको उहाँको भनाइ छ ।

बैठकमा बजेटको तयारीका विषयमा अर्थमन्त्री डा रामशरण महतले जानकारी गराउनुभएको थियो । बजेट निर्माणका सम्बन्धमा प्रमुख दलका पूर्वअर्थमन्त्री सम्मिलित कार्यदलले अर्थमन्त्रीलाई सहयोग गर्दै आएका छन् ।

बैठकपछि अर्थमन्त्री डा महतले बजेट निर्माणका सम्बन्धमा हालसम्म भएका तयारीका बारेमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुनलगायतको सहभागिता थियो ।

बजेटका सम्बन्धमा पुनः चार पक्षबीचमा छलफल गरिने र सबैको सहमतिमा बजेट ल्याइने सहमतिसमेत भएको बुझिएको छ । प्रमुख प्रतिपक्षी दल एमाओवादीले बजेट निर्माणका सम्बन्धमा आवश्यक सहयोग प्रदान गर्न पूर्वअर्थमन्त्री पुनको संयोजकत्वमा संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक गिरिराजमणि पोखरेल, सभासद् तथा पूर्वसचिव जनकराज जोशी र सभासद् शक्तिबहादुर बस्नेत सदस्य रहेको कार्यदल गठन गरेको छ ।

यस्तै सत्तारूढ दल काँग्रेस र एमालेले पनि बजेटका विषयमा समान धारणा बनाउन कार्यदल बनाएर काम गरेका छन् । आजको बैठकमा कार्यदलले गरेको काम र हालसम्मको तयारीका बारेमा समेत छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया