प्रकृतिलाई कसैले नियन्त्रण गर्न सक्दैन । यो आफ्नै गतिमा अगाडि बढिरहेको हुन्छ । यसको नियमित गतिलाई नियन्त्रण गर्नु र सूर्यलाई हत्केलाले छेक्नु भनेको उस्तै–उस्तै हो । भूकम्प भनेको पनि एउटा प्राकृतिक प्रकोपको क्रम हो । संसार विभिन्न तत्वहरु मिलेर बनेको हुन्छ । पृथ्वीले पनि कुनै ग्रहलाई पराक्रम गर्दछ । पृथ्वीलाई पनि कुनै उपग्रहले पराक्रम गर्दछ । यो विज्ञानको नियम हो । यस्तो अवस्थामा पृथ्वीमा अनेक किसिमका प्राकृतिक प्रकोपहरुबाट बिनाश हुन्छ । यो संसारको नियमित प्रक्रिया हो । हामीले पहिलादेखिको भूकम्प आउने समयलाई विश्लेषण गर्दा ८० वर्षको फरकमा ठूलो भूकम्प गएको देख्छौं । भूकम्प नेपालमा मात्र होइन संसारका अन्य मुलुक पनि भूकम्पीय रुपमा उच्च जोखिममा रहेको छन् । जापान, इन्डोनेसिया, चिली लगायतका देशमा प्रायजसो भूकम्प गइरहेको हुन्छ ।
भूकम्प लगायतका प्राकृतिक प्रकोप र मानवीय कमजोरीका कारण हुनसक्ने क्षति जस्तै आगलागीबाट बच्नका लागि हामीले पूर्व तयारी गर्नुपर्छ । भूकम्पले हामीलाई गतिलो पाठ सिकाएको छ । हामीले निर्माण गर्ने भौतिक संरचना विपद्को सामना गर्न सक्ने हैसियतको हुनुपर्छ । घर, सपिङ मल, विद्यालय, हस्पिटल लगायतका मानव जीवनको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सम्बन्ध भएका भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधीका साथै अन्य प्राकृतिक विपत्तिको सामना गर्न सक्ने किसिमको हुनुपर्छ । आफू बस्ने घर निर्माण गर्दा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ । आफ्नो आवास आफ्नै काल हुने अवस्था आएको छ । यसको कारण हामीले घर निर्माण गर्दा सरकारी मापदण्ड मिच्ने र सस्तो र कमसल निर्माण सामग्रीको प्रयोग नै हो । यसमा अब गम्भीर हुने बेला आएको छ ।
भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका कमजोर भौतिक संरचनाका कारणले गर्दा हजारौं मानिसले ज्यान गुमाएका छन् भने खरबौंको आर्थिक क्षति भएको छ । हजारौं परिवार विस्थापित भएका छन् । कयौ बस्ति स्थान्तरण गर्नुपर्ने स्थिति पैदा भएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएर राष्ट्र निर्माणको अभियानमा लाग्न सकेको खण्डमा मुलुक छिट्टै नै विकास र आर्थिक समृद्धि बाटोमा अगाडि बढ्ने छ । आर्थिक सामाजिक रुपान्तरण हुँदै एक दशक भित्रै मुलुकले मुहार फेर्ने छ । भूकम्प जस्ता प्राकृतिक प्रकोप आम मानव जातिका लागि चुनौती बनेर आउँछ । तर हामीले यसलाई अवसरमा बदल्न सक्नुपर्छ । हामी सामु जति चुनौती देखा पर्छ । त्यतिकै सम्भावनाका उज्याला र आशाका किरणहरु फैलँदै अगाडि बढ्ने गर्दछन् । समस्यालाई समाधानमा रुपान्तरण गर्नु नै सबैभन्दा बढी बुद्धिमत्ता हुने छ ।
मुलुकको पुननिर्माण र नव निर्माणका लागि आन्तारिको स्रोतको व्यापक परिचालन गर्नुपर्छ । यसका लागि हाम्रो जागर, आशा र अपेक्षालाई पनि सही ढङ्गले उपयोग गर्न सक्नुपर्छ । हरेक राष्ट्रलाई प्रकृतिले केही न केही दिएको हुन्छ । हामीलाई पनि प्रकृतिले अनुपम उपहार दिएको छ । यसको उचित प्रयोग गर्दै विदेशीहरुले बिनाशर्त स्वतस्फुर्त रुपमा दिएको सहायताको पनि समतामूलक ढङ्गले उपयोग गर्दै राष्ट्र निर्माणमा जुट्ने अहिलेको प्रमुख दायित्व र आवश्यकता हो ।
नेपालमा दाता सम्मेलन हुँदै गर्दा हामीले कसैसँग हात थापेर कठै बरा भन्ने बनाउनु भन्दा पनि हामीले अरुलाई परेको समस्यामा पनि सहयोग गर्दै आएका छौं समानता र पारस्परिकता अनि सह अस्तित्वको हैसियतमा सहयोग र सहकार्य गर्नुपर्छ । विद्यमान विश्व पारस्परिक सम्बन्धका आधारमा अगाडि बढिरहेको छ । उनीहरुसँग पनि त्यस्तै किसिमको सहयोग माग्नुपर्छ । विश्व समुदायमा रहेका देशमा आइपरेको प्राकृतिक विपत्तिमा संयुक्त रुपमा सहयोग गर्न हामी तत्पर हुनुपर्छ र भएका पनि छौँ । हामीले पनि हाम्रा मित्र राष्ट्रमा आइपरेको विपत्तिमा विशेष सहयोग गर्दै आएका छौं । हामीले एकअर्कालाई परेको समस्यामा मिलेर समाधान गर्न सिक्नुपर्छ । अनि मात्र सही मित्रताको अर्थ रहन्छ । मानवताको भावना सबैभन्दा ठुलो सहयोग हो । विश्वमा भैरहेको मानवीय क्षति र मानिसहरुको समस्यामा सहयोगी हातहरु अगाडि बढाउनुपर्छ ।
नेपालीहरु सहनशील जाति भित्र पर्दछौं । हामी यस्ता सानातिना विपत्तिबाट आत्तिएका छैन । नब्बे सालको भूकम्प होस् या अन्य कालखण्डमा आएका अनेकौं किसिमका प्राकृतिक प्रकोप होस् हामी धैर्यताका साथ प्रस्तुत भएका छौं । हामीमा सहन सक्ने क्षमता रहेको छ । यहीं क्षमताका कारण मुलुक निर्माणमा महत्वपूर्ण आयाम थपिएको छ । हामीसँग भएको सहनशीलताले पुननिर्माणमा दृढ भएर लाग्न प्रेरित गर्दछ ।
हामीले राज्यले निर्माण गरेको नीति नियमको पालना गर्नुपर्छ । कानुनले तोकेको मापदण्ड भन्दा बाहिर गएको खण्डमा मुलुकले ठुलो क्षति बेहोर्नुपर्ने हुन्छ । भूकम्पका कारण ध्वस्त भएका अधिकांश भौतिक संरचनाहरु भवन मापदण्ड मिचेर मनलाग्दी ढङ्गले निर्माण गर्दाको परिणाम हो । कानुन मिच्न खोज्दा हामीले अपुरणीय क्षति बेहोर्नुपरेको हो । त्यसैले हामीले भवन संहिताको पूर्ण रुपमा पालना र सम्मान गर्नुपर्छ । भूकम्पले आफै मानवीय क्षति गर्दैन । यसका लागि हामीले निर्माण गरेको भौतिक संरचना जिम्मेवार छ । त्यसैले हामी अब सजग र सचेत हुनुपर्छ । नब्बे सालको भूकम्पबाट पाठ सिकेर हामीले भवन मापदण्ड निर्माण गरेका हौँ । बहत्तर सालको भूकम्पले झन् हामीलाई उचित मापदण्ड तयार गर्न बाध्य बनाएको छ ।
मानिसमा तीन ओटा गुण हुन्छ । त्यो भनेको मानवीय गुण, राक्षसी गुण र दैवी गुण हुन्छ । मानवीय गुण भएको मानिस सामाजिक प्रकृतिको हुन्छ । दैवी गुण भएको मानिस महामानव हो । जसको विशेषता नै अलग प्रकृतिको हुन्छ । यस्तो मानिस असाधारण किसिमको हुन्छ । राक्षसी गुण भएको मानिसमा ध्वंस गर्ने सोच हुन्छ । कानुन मिच्न मन पराउँछ । राज्यले तय गरेको मापदण्ड छल्न रुचाउँछ । यसले समाजमा ठूलो असर गर्दछ । समाजमा विचलन ल्याउने काम गर्छ ।
नेपाल अहिले पुनर्निर्माण र नव निर्माणको चरणमा प्रवेश गरिसकेको छ । हामीले मुलुकलाई एकीकृत बस्ती विकासको अवधारणामा जोड दिनुपर्छ । छरिएर रहेका वस्तीलाई एउटै ठाउँमा ल्याउनतर्फ राज्यको ध्यान जान जरुरी छ । माटोको परीक्षण गरेर कुन ठाउँ के का लागि उपयुक्त छ । त्यही प्रयोजनका लागि जमिनको प्रयोग गर्नुपर्दछ । स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक प्रयोजनका लागि विशेष ठाउँको व्यवस्था गरिनुपर्छ । खेती योग्य जमिनमा आवास निर्माण गर्नुहुँदैन । आवासीय क्षेत्रमा विद्यालय र हस्पिटल संचालन गर्नुहुँदैन । आवास निर्माण गर्नका लागि उपयुक्त ठाउँमा खेती गर्नु हुदैन । जग्गाको अवस्थिति, हावापानी, त्यस ठाउँको वातावरण, प्राकृतिक स्रोत साधनको उपलब्धता र प्रशासनिक सुगमतालाई आधार मानेर बस्ती निर्माण गर्नुपर्छ ।
एकीकृत वस्तीको विकास गर्नका लागि, भौतिक पूर्वाधार जस्तै सडक यातायात, खानेपानी, जलविद्युत तथा अन्य बैकल्पिक उर्जाको व्यवस्था, सुविधा सम्पन्न स्वास्थ्य सँस्था, विद्यालय र उच्च शिक्षाको व्यवस्था र त्यसमा नागरिकको सहज पहुँच, लगायतका मानिसका आधारभूत आवश्यकताको सही व्यवस्थापन गर्नुपर्छ । भर्खरै गठन भएको पुनर्निर्माण प्राधिकरणले मुलुकमा नमुना बस्ती बिकासका लागि अग्रगामी एजेन्डा तय गर्नुपर्छ ।
दाताहरुसंग हामीले आर्थिक सहायता मात्र होइन, प्राविधिक सहयोग र अनुभव पनि माग्नुपर्छ । भूकम्पपछिको सफल पुनर्निर्माण गरेका हाम्रा दुई छिमेकीहरुसंग भएको अनुभव नेपालको नव निर्माण र पुनर्निर्माणमा प्रयोग गर्न सक्छौं । दातासँग हात फैल्याउने भन्दा पनि हाम्रो पोजिसन देखाउने हो । शर्त सहितको सहायता लिन हुदैन । हाम्रो स्वाभिमानमा आँच आउने गरी सहयोग लिन हुदैन । दाताले निस्वार्थ सहयोग गर्नुपर्छ । सहयोगको नाममा कसैले शर्त राख्छ भने त्योसँग स्वार्थ लुकेको छ भन्ने कुरा प्रस्ट रुपमा बुझे हुन्छ ।
(श्रेष्ठ संविधानसभा सदस्य हुन् ।)
प्रतिक्रिया