शुक्लाफाँटा वन्यजन्तु आरक्षमा कृष्णसारको सङ्ख्या थपियो

इनेप्लिज २०७२ असार २२ गते १०:१६ मा प्रकाशित

Krishnasarकञ्चनपुर, २२ असार । बाँकेको खैरापुरबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा लोपोन्मुख कृष्णसारका छ पोथी र दुई भालेलाई स्थानान्तरण गरी ल्याइएको छ ।

कृष्णसारको सङ्ख्या बढाउन तिनीहरुलाई दुई दिनअघि स्थानान्तरण गरी ल्याइएको हो ।

अझै कृष्णसारका तीन पोथी र चार भाले खैरापुरबाट ल्याउने तयारी भइरहेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउन पाँच हेक्टर क्षेत्रफलमा ग्याविन बक्स बनाइएको छ । त्यसको पछाडि विद्युतीय तारबार जडान गरिएको छ । यसअघि सात हेक्टर क्षेत्रफलमा मात्रै ग्याविन बक्स बनाइएको थियो ।

फाँटाको उत्तरतर्फको क्षेत्रमा समेत कृष्णसारको वासस्थानमा बढोत्तरी गर्न ग्याविन बक्स राख्ने योजना बनाइएको अधिकृत ढकालले बताउनुभयो ।

चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकोस् भनेर तारबार जडान गरिएको आरक्षका मुख्य संरक्षण अधिकृत ढकालले बताउनुभयो ।

हिरापुर फाँटामा यसअघि २०६९ सालमा २८ वटा कृष्णसार नेपालगन्ज र ललितपुरको जावलाखेल चिडियाखानाबाट स्थानान्तरण गरी ल्याइएको थियो । स्थानान्तरण गरी थप ल्याइएका र यसअघि फाँटामा राखिएका गरी कृष्णसारको सङ्ख्या अब ४५ भन्दा बढी पुगेको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो ।

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुईवटा कृत्रिम पोखरी र दुईवटा छहारी घर निर्माण गरिएको छ ।

पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा आरक्ष कार्यालयले ग्राभेल गरेको छ भने कृष्णसारको अवलोकन गर्न मचानको समेत व्यवस्था गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र वासस्थानको विनाश र चोरीसिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको हो ।

नेपालमा कृष्णसारका सबैभन्दा बढी झन्डै तीन सय प्रजाति बर्दियाको खैरापुरमा रहेको छ ।

एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाडाँैको मृगस्थली र शुक्लाफाँटको हिरापुर फाँटामा संरक्षित छ ।

घाँसका फाँटहरुमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङ्गको हुन्छ । यसले छ÷छ महिनमा बच्चा जन्माउने गर्छ ।

वर्षमा अन्य जनावरजस्तो कृष्णसारको सिङ झर्दैन । वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो हुन्छ ।

विभिन्न दातृ संस्थाको रु ४२ लाख ६१ हजार ३०० को सहयोगमा सुनदेवी उपभोक्ता समिति झलारीले कृष्णसार संरक्षणका लागि समुदायमा आधारित कार्यक्रमसमेत सञ्चालन गरेको छ । यसअन्तर्गत खुला चरिचरन नियन्त्रण गर्न र भुस्याहा कुकुर नियन्त्रण गर्न रु नौ लाख ५२ हजारको लागतमा दुई किलो मिटर क्षेत्रमा काँडेतार पनि राखिएको छ ।

प्रतिक्रिया