बागलुङको असारे मेला भोलिदेखि

इनेप्लिज २०७२ असार २१ गते ३:४२ मा प्रकाशित

Baglung_district_locationबागलुङ, २१ असार । जिल्लाको ताराखोलामा मनाइने परम्परागत मगर संस्कृतिमा आधारित असारे मेला मङ्गलबारदेखि सुरु हुँदैछ । पाँच दिनसम्म लाग्ने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

स्थानीय तारामी मगरले पुस्तौँदेखि असारे मेला मनाउँदै आएका छन् । धार्मिक मान्यता र आस्थाका आधारमा वैदिक विधिपूर्वक मनाइने असारे अहिले फेरिँदै गएको छ । परम्पराको जगेर्नासँगै मेलालाई नयाँपन दिने प्रयास गरिएको आयोजक असारे युवा क्लबका अध्यक्ष प्रकाश रोकाले बताउनुभयो ।

असारे मेला बर्सेनि असार तेस्रो सातादेखि मनाउने गरिएको छ । “हाम्रा अघिल्ला पुस्ताले जोगाउँदै आएको संस्कृति, कला संरक्षण गर्न आवश्यक छ”, रोकाले भन्नुभयो, “ताराखोलाकै पहिचानका रुपमा रहेको असार मेला बर्सेनि गर्दै आएका छौँ ।”

मेला आयोजना गर्ने संस्थाको नेतृत्व पनि युवा पुस्ताले गरेका छन् । स्थानीयवासीले भने मेलालाई असारे बस्ने भनेर पहिचान दिलाउने गरेका छन् । “असारे बसेको समयमा खेतीबालीको काम गर्न नहुने मान्यता पनि रहिआएको छ”, रोकाले भन्नुभयो । बर्सात्को समयमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट बच्न सकियोस्, रोगब्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै विधिपूर्वक पूजाआजा गरी असारे मनाइने स्थानीयवासी झकबहादुर घर्तीले बताउनुभयो ।

मेलाको सुरुआत सोमबार या मङ्गलबार पारेर गर्ने प्रचलन रहेको घर्तीले जानकारी दिनुभयो । मेला सुरु हुँदा तारा–९ तारागाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजाआजा गरेपछि तारा–७ करिमेलामा मेलाको अन्य कार्यक्रम गर्ने गरिएको छ । स्थानीयवासीले खेतीपातीको काम पछि विश्राम लिने, जमघट हुने, आफन्तसँग भेटघाट गर्ने अवसरका रुपमा पनि मेलालाई लिने गरेका छन् ।

मेलाको अवसरमा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता र रस्साकस्सी प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । मेला अवलोकनका लागि ताराखोला, हिल अर्गल, हटिया हरिचौर, तमान, रणसिंहकिटेनी, खुङ्गा, म्याग्दीको रुम, निस्कोट, किमचौरलगायत ठाउँबाट सर्वसाधारण आउने गर्दछन् ।

तारामी मगरले आफ्ना पुर्खाहरु डोल्पाको ताराभोटबाट तारा–९ को तारागाउँमा आएर बसेपछि असारे बस्ने प्रचलन सुरु भएको दाबी गर्छन् । मगरकै संस्कृतिमा आधारित असारे बस्ने र सिस्नो खोस्ने नाच ताराखोलामा प्रख्यात छ । विगतमा मगर समुदायले मात्रै मनाउँदै आएको भए पनि असारे मेला अहिले आएर सबै खाले वर्ग र समुदायको साझा बन्दै गएको छ ।

प्रतिक्रिया