लगातारको वर्षाले दिक्तेल–वात्तल सडक अवरुद्ध

इनेप्लिज २०७२ असार २१ गते ३:२७ मा प्रकाशित

खोटाङ, २१ असार । लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–वात्तल सडक अवरुद्ध भएको छ । हप्तादिनदेखि लगातारको वर्षाले मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–वात्तल खण्ड अवरुद्ध भएको हो ।

वर्षाको पानीले सडक हिलाम्मे र खाल्डाखुल्डी बनेपछि दिक्तेलबाट वात्तलसम्मको यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । सडकखण्ड अवरुद्ध भएसँगै दिक्तेलबाट वात्तलसम्म दुई घन्टा पैदल हिँड्नुपर्ने समस्या सुरु भएको छ ।

जिल्लाबाट तराई जाने र आउने एक मात्र सडकका रुपमा रहेको उक्त सडक अवरुद्ध बनेपछि जिल्लाका यात्रु मारमा परेका छन् । हरेक वर्ष वर्षायाममा यो सडक अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध बनेपछि दिक्तेल जाने÷आउने मालवाहक तथा यात्रुवाहक सवारीसाधन वात्तलमै थन्किएका छन् । भर्खरै कालोपत्रको काम थालिएको दिक्तेल–हलेसी सडक सम्पन्न नभएसम्म यस्तै समस्या कायम रहने राईको भनाइ छ ।

प्रतिक्रिया