एकै दिन सयवटा सिटी सफारी कारबाहीमा

इनेप्लिज २०७२ असार २१ गते ३:२६ मा प्रकाशित

15451सुरुङ्गा (झापा), २१ असार । बिनादर्ता सञ्चालित सयवटा सिटी सफारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आइतबार एकै दिन कार्वाही गरेको छ ।

राजमार्ग र भित्री सहायक सडकखण्डमा जताततै इजाजत नै नलिई सिटी सफारी चलाउने क्रम बढेको र त्यसले दुर्घटना निम्त्याउने भन्दै ट्राफिक प्रहरीले त्यस्ता सिटी सफारीलाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक रोशन आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिटी सफारीले पनि दुर्घटना गराउने हुँदा बिनादर्ता चलाइएका सिटी सफारीले दुर्घटना गराएर भागे त्यसको जवाफदेही को हुने तसर्थ हामीले बिनादर्ता चलाएका सिटी सफारीलाई कार्वाही गरेका हौँ ।” ट्राफिक प्रहरीले झापाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सयवटा सिटी सफारीमध्ये एक–दुई जनाले आइतबार नै दर्ता गरेर सफारी लगेका छन् भने अधिकांश सिटी सफारी ट्राफिक प्रहरी परिसरमै लामबद्ध गरेर राखिएको छ ।

यातायात व्यवस्था कार्यालय मेचीले सिटी सफारीको दर्ता प्रक्रिया सुरु गरे पनि चालकले अटेर गरेर दर्ता नगर्दा समस्या उत्पन्न भएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले केही दिनभित्र नगरपालिकासँग सरसल्लाह गरी रुट परमिट र लाइसेन्सको व्यवस्था गरेर मात्र सिटी सफारीलाई सञ्चालन गर्न दिने व्यवस्था गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख आचार्यले बताउनुभयो ।

यातायात व्यवस्था कार्यालय मेचीले मे१ह नम्बर प्रदान गर्दै सिटी सफारीलाई दर्ता गर्न सुरु गरेको र अहिलेसम्म ५७६ वटा सिटी सफारी दर्ता भइसकेको यातायात व्यवस्था कार्यालय मेचीले जनाएको छ ।
सिटी सफारीको बिक्री गर्दै आएका कनकाई इन्टरप्राइजेजका सञ्चालक विष्णु सिग्देलले यातायात व्यवस्था कार्यालय मेचीले सहजै सिटी सफारीको दर्ता गरिदिए केही दिनभित्रै यो समस्या सुल्झिने बताउनुभयो ।

प्रतिक्रिया