मुआब्जा माग्दै सप्तकोसी ब्यारेजमा धर्ना

इनेप्लिज २०७२ असार २१ गते ३:२३ मा प्रकाशित

downloadसप्तरी, २१ असार । २०११ सालमा नेपाल र भारत सरकारबीच भएको कोसी सम्झौताअनुसार कोसी नदीबाट भएको क्षतिको मुआब्जा नदिएको भन्दै कोसी नदी डुबान सङ्घर्ष समितिले आइतबार सप्तकोसी ब्यारेजमा एक घन्टा धर्ना र चक्काजाम गरेका छन् ।

पूर्वगृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरीको नेतृत्वमा सप्तरी क्षेत्र नं १ का सभासद् मानपुर चौधरी, क्षेत्र नं २ का सभासद् अशोककुमार मण्डल (अमर) सङ्घर्ष समितिका संयोजक महिदेव चौधरी कासिम अन्सारी सहितका हजारौँको सङ्ख्यामा रहेको स्थानीय बासिन्दाले मुआब्जा माग्दै पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजमा एक घन्टा राजर्मागमा चक्काजाम गरी धर्नामा बसेको सङ्घर्ष समितिले जनाएको छ ।

कोसी नदीबाट भएको क्षतिको भारत सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा नपाएको, मुआब्जा दिनमा पनि ढिलाइ भइरहेको भन्दै सरकारले समेत पीडित जनताका लागि क्षतिपूर्ति दिलाउन कुनै पहल नगरेकाले सप्तरी, सुनसरी र उदायपुरका कोसीपीडितले सङ्घर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन कार्यक्रमअन्तर्गत धर्ना दिएका हुन् ।

कोसी सम्झौताअनुसार कोसी क्षेत्रका बासिन्दाको जग्गा र अन्नबालीमा पुग्ने क्षतिको सम्पूर्ण मुआब्जा भारत सरकारले दिने उल्लेख भए पनि वर्षौं बित्न लाग्दा पनि कोसी कटान पीडितले अहिलेसम्म कुनै किसिमको मुआब्जा नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

तीन वर्षअघि भारतको नयाँ दिल्लीमा यस विषयलाई लिएर बसेको दुई देशका मन्त्रिस्तरीय बैठकले समेत कोसी नदीबाट भएको कटान र अन्नबाली क्षतिका बारेमा दुवै देशका प्राविधिकबाट निरीक्षण र मूल्याङ्कन गरी अविलम्ब मुआब्जा दिने सहमति भएको थियो ।

सप्तरी, सुनसरी र उदायपुरका कोसीपीडित सङ्घर्ष समिति संयोजक महिदेव चौधरीले यसअघि सङ्घर्ष समितिले सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र पठाएका थिए ।

प्रतिक्रिया