पहिरोले पाइप बगाएपछि इलाममा खानेपानी हाहाकार

इनेप्लिज २०७२ असार १५ गते ११:३० मा प्रकाशित

drinking-waterइलाम, १५ असार । इलाम नगरपालिकामा आपूर्ती हुँदै आएको खानेपानीको पाइप पहिरोले बगाएपछि नगर क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । अबिरल वर्षाका कारण गीताङ खानेपानी मुहानको पानीको पाइप पहिरोले बगाएपछि पानीको हाहाकार भएको हो ।

वर्षाका कारण माइमझुवा–४ सिमखर्कस्थित ठाडे खोला नजिकै पहिरो जाँदा खानेपानीको पाइप बगाएको छ । गीताङ मुहानदेखि आउने गरेको प्रतिसेकेण्ड पाँच लिटर पानी अवरूद्ध भएको छ ।

डाँडाबाट आएको पहिरोले खानीपानीको पाइप बगाउनुका साथै ठाउँ ठाउँमा पुरेर क्षति पु¥याएको नगरपालिका खानेपानी शाखाका प्रमुख दिनेश काफ्लेले बताउनुभयो ।

वर्षापछि तीन दिनअघि गएको पहिरोले पाइप बगाएपछि नगर क्षेत्रका दुई हजार ६०५ उपभोक्ताका धारामा पानी आउन छाडेको छ । तीन दिनदेखि पानी नआएपछि खानेपानीका लागि सदरमुकामस्थित ढुङ्गेधारामा धाउनु परिरहेको सदरमुकाममा बस्दै आएकी सरिता शर्माले बताउनुभयो ।

खानेपानीको पाइप मर्मतका लागि इलाम नगरपालिका कार्यालयबाट दैनिक छजना कर्मचारी परिचालन गरिरहेपनि मर्मत गर्न नसकिएको र मङ्गलबार त्यस क्षेत्रमा थप कर्मचारी परिचालन गरिने काफ्लेले बताउनुभयो ।

माथिबाट झरेको पहिरोले करिब तीस मिटर पाइप बगाएको हो । पहिरो गएको क्षेत्रमा वर्षा भइरहेकाले मर्मत गर्न कठिनाई भएको कर्मचारीले बताएका छन् । उक्त स्थानबाट नभए डाइभर्सन गरेर भएपनि मर्मत गर्ने काफ्लेले जानकारी दिनुभयो ।

बर्खायाममा बारम्बार गइरहने पहिरोले नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ती ठप्प हुँदै आएको छ । नगरपालिकाले गीताङ र भाडी खोलाबाट नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको छ ।

दुबै मुहानबाट नगरपालिकामा प्रतिसेकेण्ड १० लिटरका दरले खानेपानी आउँथ्यो, तर अहिले गीताङ मुहानबाट पानीनै नआएपछि खानेपानी आपूर्ती गर्न सकिएको छैन । काफ्ले भन्नुहुन्छ, ‘वर्षातको समय भएकाले केही दिन लाग्नेछ ।’ खानेपानी अभावका कारण यस अघिनै नगर क्षेत्रमा ३६ घण्टामा एकपटक मात्र पानी आपूर्ती हुँदै आएको थियो ।

प्रतिक्रिया