इनपाबाट दैनिक ५.७ मेट्रिक टन फोहर उत्पादन

इनेप्लिज २०७२ असार १४ गते ९:३० मा प्रकाशित

ilam_nepal_mapइलाम, १४ असार । इलाम नगरपालिकाबाट दैनिक ५ दशमलव ७ मेट्रिक टन फोहरमैला उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ ।

चार हरितका लागि सार्वजनिक निजी साझेदारी परियोजनाले गरेको फोहरमैला उत्पादन तथा व्यवस्थापनसम्बन्धी आधारभूत सर्वेक्षणले यस्तो देखाएको हो ।

इलाम नगरपालिकामा डेढ वर्षअघिदेखि सुरु भएको उक्त परियोजना सुरु गरिएको हो । नगरपालिकाका पाँच हजार ४७५ घरधुरी र ७४१ सङ्घसंस्थामा गरिएको सर्वेक्षणले नगरवासीले दैनिक औसत प्रतिघर ९०० ग्राम तथा सङ्घसंस्थाबाट दैनिक एक किलो ७०० ग्राम फोहरमैला उत्पादन हुने गरेको देखाएको छ ।

ती फोहरमैलामध्ये ७२ प्रतिशत (४ दशमलव १ मेट्रिक टन) कुहिने तथा २८ प्रतिशत (१ दशमलव ६ मेट्रिक टन) फोहरमैला नकुहिने रहेका छन् ।

परियोजनाका दावा योल्मुका अनुसार इनपा–२ मा सबैभन्दा बढी दैनिक १ दशमलव ०१ मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । यसमध्ये वार्षिक ३७४ मेट्रिक टन कुहिने फोहरबाट १५० मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्छ ।

नगरपालिकाबाट उत्पादन हुने फोहरको उचित व्यवस्थापन गरी सड्ने र नसड्ने फोहरको वर्गीकरण गरी सड्ने फोहरलाई उद्योगमार्फत मल तयार गर्ने मुख्य लक्ष्य रहेको परियोजनाको साझेदार संस्था विनरक इन्टरनेसनलका बद्री बरालले जानकारी दिनुभयो ।

सर्वेक्षणअनुसार हाल ४२ प्रतिशत नगरवासीसम्म नगरपालिका कार्यालयको फोहर सङ्कलन प्रणालीको पहुँच रहेको तथा घरधुरीमा उत्पादित फोहरमध्ये ६० प्रतिशत परिवारले फोहरमैलालाई स्रोतमै वर्गीकरण गर्ने गरेका छन् । नगरवासीले फोहरमैला व्यवस्थापनबापत न्यूनतम रु ४६ देखि अधिकतम रु १०० सम्म प्रतिमहिना तिर्न सक्ने देखिएको छ ।

कुल रु १० करोड ९४ लाखको उक्त परियोजना आगामी चार वर्षसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया